बाल एकाङ्की : कैद आवाज

~महेश पौड्याल~Mahesh Paudyal

पात्रहरू
प्रिन्सिपल
विप्लव कक्षा ५ को एक विद्यार्थी
विष्णु नेपाली भाषा शिक्षक
शशी उनका आठ वार्षे छोरो
आकाश शशिको सुसारे केटो

स्थान : प्रिन्सिपलको कोठा

स्कुल लागेको बेला हो । त्यस स्कुलमा भर्खरै मात्र कक्षा ५ मा भर्ना भएको नयाँ विद्यार्थी विप्लव प्रिन्सिपलको अफिसको दौलोमा उभिएको छ । भित्र प्रिन्सिपल केही लेखिरकेका छन् । उनकै छेउको भित्तोमा एउटा सेतो कागजमा नारा टाँसिएको छ, Speaking English । गम उक्किएर यो कागज झर्न लागेका देखिन्छ

प्रिस्सिपल : गुड मोर्निङ्ग, विप्लव ।
विप्लव : गुड मोर्निङ्ग, सर ।
प्रिस्सिपल : एनी प्रोब्लेम ?
विप्लव: सर ।
प्रिस्निपल: कम ओन, टेल मी ।
विप्लव : सर ।
प्रिन्सिपल : ह्वाइ डोन्ट यू टेल एनिथिङ्, विप्लव ?

(विप्लव केही भन्न चाहन्छ, तर अक्मक्किन्छ, सक्तैन । ऊ अवाक उभिइरहन्छ, धेरैबेर । आँखामा आँसु आउँछन् ढलपल ढलपल । ऊ एक्कासि पछि फर्कन्छ अनि दौडन्छ आफ्नो कक्षाकोठातिर ।)

(भोलिपल्ट पनि ऊ प्रिन्सिपलको अफिसको दैलोमा त्यसरी नै उभिन पुग्छ ।)

प्रिन्सिपल : येस, पिप्लव । येस्टरडे अल्सो, यू वेन्ट विदाउट अ वर्ड । मे आइ हेल्प यू?
विप्लव : सर ।
प्रिन्सिपल : कम इन, एण्ड सिट अन द चेयर ।

(प्रिन्सिल सीधा हेरिरहन्छन, विप्लपको अनुहारमा, केही अलमल भएझैँ गरी । उनका अनुहारमा केही आशंकाहरु स्पष्ट देख्न सकिन्छ ।)

प्रिन्सिपल : ह्वाट वाज योस फोर्मर स्कुल?
विप्लव : स्कुल ।
प्रिन्सिपल : (पियनलाई बोलाउँदै ) प्रेम! यहाँ आऊ । विल्पवको भर्ना फाइल निकाल त ।
प्रेम : (भित्र पस्दै) हजूर सर । हुन्छ सर । (प्रस्थान)

प्रिन्सिपल: आइ नोउ, यू वान्ट टु टेल मी समथिङ् । बट, यू हेभ नट विन एबल टु कलेक्ट द करेज । आर यू अफरेड, विप्लव?
विप्लव : सर ।

(प्रम प्रवेश गर्छ, र विप्लवको भर्ना फाइल प्रिन्सिपलको टेबलमा राखिदिन्छ । प्रिन्सिपल फाइल पल्टाउन थाल्छन् ।

प्रिन्सिपल : म्म । सो यू कम फ्रोम प्रगति पब्लिक स्कुल । देट इज अ गुड स्कुल, आइ नोउ । नाव, कम, टेल मी ह्वाट यू वान्ट टु सेइ ।
विप्लव : सर्, मलाई…..
प्रिन्सिपल : (झर्केर) इङ्गिस । दिस इज एक इङ्गिलिस मिडियम स्कुल । यू हेभ टु स्पीक इङ्लिस । डु यू नोउ, यू आर चार्जड फाइभ रुपिस् फर एभ्री वर्ड यू स्पीक इन अदर ल्याङ्ग्वेजेस्?
विप्लव : यस् सर ।
प्रिन्सिपल : कम्, टेल मी योस प्रोब्लेम नाव ।
विप्लव : यस् सर ।

(विप्लव फनक्क फर्कन्छ र बाहिरतिर कुद्छ । प्रिन्सिपल उसलाई हेरिरहन्छन्, केही अल्मल्लिएको दृष्टिले । )

(त्यसपछि धेरैदिन सम्म विप्लव प्रिन्सिपलको अफिसमा जाँदैन । एक दिन अपराह्न, उसलाई उसका नेपाली भाषा शिक्षक विष्णु सरसँग केही कुराकानी गर्दै गरेका देखिन्छ । केहीछिन पनि विष्णु सर र विप्लव प्रिन्सिपलको कोठामा पुग्छन् ।)

प्रिन्सिपल : बसौँ सर । आज सरसँग विप्लव पनि?
विष्णु : उसँग एउटा गम्भीर समस्या छ सर ।
प्रिन्सिपल : त्यो त मैले पहिल्यै शंका गरेको थिएँ । ऊ पहिले पनि दुइचार पटक मकहाँ आएको थियो । तर केही भनी भाग्यो । खोई किन डराउँछ ऊ मसँग ।
विष्णु : वास्वतमा सर, उसलाई अङ्ग्रेजी बोल्न आउँदैन । उसँग कुनै विकल्प छैन ।

(प्रिन्सिपल निकै गम्भीर बन्छन् । उनी गहिरो सोचाइमा डुब्छन्, र विप्लवलाई हेर्छन । विप्लवको सिर झुकेको छ ।)

प्रिन्सिपल : अरु केही थप समस्या?
विष्णु : भन्छ, उसका साथीहरु उसलाई सधैँ कुट्छन् । तर ऊ कसैलाई भन्दैन ।
प्रिन्सिपल : किन?
विष्णु : भाषाले गर्दा सर । उसलाई अङ्ग्रेजी आउँदैन । उसलाई थाहा छ, नेपाली बोलनु भनेको जरिवाना तिर्नु हो । ऊ भन्छ, उसका वावु छैनन् र आमासँग जरिवाना तिर्ने पैसा छैनन् । त्यसैले सबै कुटाइहरु सहिदिन्छ सर उसले । यो क्रम धेरैदिन देखि चलिरहेको छ ।

प्रिन्सिपल : उसले तपाईलाई भनेको भए हुन्थयो ।
विष्णु : नयाँ विद्यार्थी हो सर् । मसँग नजिकिन पनि त उसलाई समय लाग्यो ।
प्रिन्सिपल : उसले मलाई भनेको भए पनि हुन्थ्यो ।
विष्णु : ऊ सरको अफिसमा आएको थियो अरे दुईचार पटक । तर जरिवानामा डरले उसले बोल्न सकेन ।
प्रिन्सिपल : हो विप्लव?
विप्लव : म्म्, सर । ( टाउको हल्लाएर स्वीकारोक्ति जनाउँछ । उसका आँखामा आँसु छन् )
प्रिन्सिपल : आइ अन्डस्टुड योर प्रोब्लेम । यू मे गो टु योर क्लास ।
विष्णु : विप्लव, सर्ले कुरा बुझ्नुभाये अरे । तिमी कक्षाकोठामा जाऊ अरे ।

(विप्लव बाहिरिन्छ । )

प्रिन्सिपिल : ती बदमास् केटाहरुलाई कारवाही गर्नुपर्छ ।
विष्णु : ठीक छ सुर्, तर त्यसमा समस्याको स्थायी समाधान छैन ।
प्रिन्सिपल : उसो भए?
विष्णु : हामीले पुनरिविचार गर्नुपर्छ, अङ्ग्रजी नबोले जरीवाना लाउने नियम ठीक हो कि हैन भनेर । विप्लवजस्ता धेरै छन् यो विद्यालयमा ।
प्रिन्सिपल : (नकैबेर सोचेर) वास्तवमै ।
विष्णु : एउटा अवोध बालकका लागि अङ्ग्रेजी महत्वपूर्ण हो कि उसका आधारभूत आवश्यकताहरु महत्वपूर्ण, यो सोच्नु पर्ने ठूलो प्रस्न हो । मेरे त क्लास् छ, म लागेँ सर ।

(विष्णु बाहिरिन्छन् । निकैबेर गम्छन् प्रिन्सिपल, कुइने टेबलमा, र हत्केलामा टाउको अड्याएर । केहीबेर पछि ऊ जुरुक्क उठछन्, र आफ्नो छेउको भित्तामा खस्न लागेको कागजको Speaking English को सूचनलाई फुत्त निकाल्छन्, च्यात्चुत पारेर फोहोरदानीमा हाल्छन्, र बाहिरिन्छन् । )

(पर्दा बन्द)

(स्रोत : केटाकेटीअनलाईन डट कम)

This entry was posted in बाल एकाङ्की and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.