~प्रणिका कोयु~
हाँसो उठ्दैछ सरकार
म हाँसौ है हजूर?
सानो स्वरमा?
हुन्छ हजूर, म खुसुक्क ङि्च्च हाँस्नेछु
प्रभू, आँखा पिरो भयो
मन गाँठो पर्यो हजूर
रूने आज्ञा पाउँ
कोकोहोलो नमच्चाई लुकेर तपक्क झार्नेछु श्रीमान्
नाच्ने रहर जाग्दैछ मालिक
लय खोज्दैछ संगीतको
शून्य ध्वनिमा नाच्ने हजूर?
आज्ञा शिरोपर ख्वामित्
यही भन्थे शायद पहिले
भन्दैनौ हामी अहिले
हाँस्छौ, रून्छौ, गाउँछौ, नाच्छौ
तिम्रो उर्दी जे होस् बोल्छौँ
जय नेपाल!