छन्द कविता : सपनाकी प्रियतमा

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द :- शिखरिणी

बन्यो गाढा तन्द्रा भुसुभुसु सुते लोचनहरू
सिरानीमै टुङ्गे क्षणिक पलका गन्थनहरू
भए फिक्का बोली, अवयव निदाए शयनमा
उदाइन् रम्भा झैँ झलल सपनाकी प्रियतमा !!

सुगाको झैँ बोली, हरिणसरि सङ्ला नयन छन्
गलामा गीताका हरफसरि मीठा वचन छन्
परेलीका ताँती झिमझिम अहो सुन्दर छटा
घसेका गालामा जलरहित सेता घनघटा ।।

जुरेली झैँ चुल्ठो, शिर छ रजनीको पटल झैँ
गुफामा छन् दाना चमचम हिराका पसल झैं
बलेका छन् बत्ती शशिवदन शोभा चहकिँदा
हराएछन् आँखा अपरिमित आस्वादन लिँदा ।।

कुँदेका ठेकी झैँ युगल कुम घाँटी-तलतिर
उठेका छन् थुम्का “गिरिशिखर” वक्षस्थलतिर
गढे लोभी आँखा युगल चुचुरा दर्शन गरी
फुटे धाराधारा दरर पसिना निर्झर-सरि ।।

घुमेका छन् फन्का मृगसरि छिनेको कमरमा
बजेका छन् कल्ली “छनन छन” चिल्ला पयरमा
नशाले उम्लेका नजरतिर बास्ना प्रणयको
बन्यो मौरी लोभी, प्रवलतम शङ्का प्रलयको ।।

उठेकी चण्डीको बलसरि रिसाइन् प्रियतमा
कहाँ धान्ला छेक्ला अनल ! पुतलीले नजिकमा ?
बलेको आगोमा तृण अनि झिँजा वा खर बनेँ
“उमाका सामुन्ने पतित शठ जालन्धर” बनेँ ।।

उड्यो टाढाटाढा ! क्षणभर भुलाएर सपना
डुब्यो यात्रा-नौका, जलतिर लुकाएर बहना
प्रियाको खोजीमा भ्रमित सपनाको रस पियो
सिरानीमा भिज्दै मधुकर झल्याँस्सै बिउँझियो !!

– विदुर न•पा• 3 शेरा, नुवाकोट ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.