~तिर्थ प्रसाई ‘ अभिनव’~
हिजोआज,
हरेक दिन
थेत्तरो महलले
जीर्ण झुपडीलाई फकाउँछ,
‘आइज,
तेरो र मेरो बिहे गर्नुपर्छ ।’
‘किन?’
प्रश्न झर्छ झुपडीको–
अनि झर्छ
बनिबनाउ जवाफ —
नयाँ नेपाल जन्माउन ।
कम छुरा भएकी छर
आजकल!
प्याच्च मुख लाग्छे–
‘कति न माया गर्ने
भाको मुर्दार!
तँसंग बिहे गरेर नि केही हुन्छ ?
हरेक साँझ,
रगत र पसिना धोकेर,
मातेर आँउँछस्,
मेरो बलात्कार गर्छस्,
अनि
उता फर्केर
फ्वाँ फ्वाँ गर्दै
निदाउँछस् !’