~लक्ष्मी प्रसाद देवकोटा~
स्वर्ग र भूको सूक्ष्म हुँ स्पन्दन–
दाना तिलको,
यति छु मसिनो ! सक्छ को सम्झन ?
दिल झिल्को ?
अलग सचेतन सागर चेतन
कण जलको !
जति जति गिर्दछु उति उति उठ्दछु !
अन्त न बलको
विश्व बनाउँछु, विश्वधनी छु—
क्षण–झुल्को ।
सृष्टि, स्थिति र प्रलय म भोग्दछु,
प्रतिपलको ।
मेरा नीलिम गहिराइमा
मेरै अनिलको
तपन, जपन र अन्तः स्वपन छन्
ऋजु र कुटिलको ।
सब ती विसर्जन मिल्दछु जलमै,
जल–फुल्को !
जोरिन्छ जतातिर मानवतासँग,
साँध यो दिलको,
अनन्त शक्ति र ज्योति छु उत्तम
युगको अमर झिल्को !