~जीवन क्षेत्री~
पखालिदेऊ उसको सिउँदोको सिन्दुर
छोट्याइदेऊ उसको लामो कपाल
पुछिदेऊ उसको ओठको लाली
मेटाइदेऊ उसको नङको पालिस
पोखिदेऊ उसको हातमा
युगौंदेखि जमेको दही
थमाइदेऊ उसको हातमा यौटा मशाल
सत्य र न्यायको जीतका लागि
बढिरहेको चेतनासँगै
छिनाइदेऊ उसका पाउजुहरू
चुँडाइदेऊ उसका पोतेहरू
सौन्दर्यको नाम जप्दै
अदृश्य दाम्ला र साङ्लाहरूले
बेरिँदा बेरिँदै
ऐना, चुलोचौको र मेकअपभित्र
बन्दी बनेर,
अपाङ्ग बनेको उसको व्यक्तित्व
फेरि सर्साउन
एक बिटो पुस्तक किनिदेऊ
मुहारको पाउडर पुछिदेऊ
उसलाई परी र अप्सरा भन्दै
वासनामा लठ्ठिनेहरूलाई
भनिदेऊ अब ऊ अबला नारी हैन
मशाल बोकेकी जुझारु नारी हो ।
प्राकृतिक रुपमा,
घाममा डढेको अनुहारमा
अनि छरितो पोशाकमा
भनिदेऊ ऊ अब कसैको
खुट्टा धोएर पानी खाने छैन
कसैको भान्छाकोठामा थुनिने छैन
अर्कोको कमाइमा भर पर्नेछैन
वात्सल्य र मातृत्वको अन्तहीन दुश्चक्रमा
ऊ अब फँसिरहने छैन
त्यो पाठेघर उसैको हो र
त्यसमा कसैलाई बास दिन वा नदिन सक्छे
उसलाई कमजोर ठान्नेहरू र
खुट्टा कमाउनेहरूलाई देखाउन आज
ऊ हातमा मशाल लिएर कुदिरहिछे
बीच सडकमा
न्याय र चेतनाको ज्वाला सल्काउन
सधैँ पैतालामुनि दबाएर
दयालु, मायालु, लज्जालु, कोमल, आदि
भन्नेहरू विरुद्ध
आत्मघाती बम भएर विष्फोट हुन चाहन्छे ऊ
दशकौंको आक्रोश पोख्न चाहन्छे ऊ
नेपालकी ‘राशेल कोरी’ बन्न चाहन्छे ऊ
उसलाई किच्न आउने पुरुषवादी हैकमहरूलाई
सामन्तवादी संस्कारहरू र निकृष्ट तर्कहरूलाई
त्यही मशालले जलाउन चाहन्छे ऊ
पखालिदेऊ उसको सिउँदोको सिन्दुर
छोट्याइदेऊ उसको लामो कपाल ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)