~राजा पुनियानी~
“गावं छोड़ब नाहीं
मां-माटी छोड़ब नाहीं
जंगल छोड़ब नाहीं”
उसलाई पृथिवीबाट लखेटियो
त्यसैले
उसले पृथिवीलाई नै काँधमा हालेको छ
उठिरहेछ
लखेटिएको पानीबाट
आदिवासी धुवाँ
बेलुकी झोलाभरि चिन्ता बोकेर घर
फर्किएको बुधियाको निःश्वास
र बिहान लुङ्गीको फेरमा डर बोकेर घर छाड़्ने
धनियाको प्रःश्वासले ढुकढुकिन्छ
इतिहासभन्दा जेठो आदिवासी धुवाँको मुटु
लखेटिएको पानीमा आगो छ
आगोमा देश
देशमा आँसु छ
र आँसुमै घोलिएर बगिरहेको छ
इतिहासको घाउको पीप
उसलाई पानीबाट लखेटियो
त्यसैले
पानीलाई नै उसले काँधमा हालेको छ
धुवाँले काँढ़ेतार चिन्दैन
धुवाँले सत्ताले तेर्साएको सङ्गीन देख्दैन
धुवाँको त्यसैले देश छैन
आधिपत्यका तल्लैतल्ला सत्तामहलको भुइँ
चिरेर
अन्धकारमै उम्रिएको टुसाजस्तै
बिटिटि पल्हाउँछौँ भनेका छन्
शताब्दी-शताब्दी दबिएका टाउकोहरूले
अँठ्याइएको जङ्गल, माटो, पानी र हावाले
पठाएका छन्
चाँड़ै फर्कने सन्देश
विकासको झ्यालखानाबाट
उसलाई जङ्गलबाट लखेटियो
त्यसैले
उसले जङ्गललाई नै
काँधमा हालेको छ
धुवाँले बोकेको छ
मुस्कुराइरहेको प्रतिरोधको पुल्ठो
धुवाँको हातमा अब तीर छ, धनु छ
धुवाँको झोलामा किताब छ, पर्चा छ
धुवाँको मुटुमा गीत छ, सपना छ
खेतका आली-आली भएर गाउँदै जाँदैछ
अनिदो गाउँको आदिवासी धुवाँ –
“गावं छोड़ब नाहीं मां-माटी छोड़ब नाहीं जंगल
छोड़ब नाहीं”
अहिले पानीको आगो बिस्तार
आकाशतिर उठ्दै गइरहेको छ
त्यही आगोमा जुलुलु डढ़्दैछ
राज्यसत्ताको शाही कपाल ।।