~डा.रुपक श्रेष्ठ ~
शिशिर
सधैँझैँ पोहर पनि
ओढेर धेरै अँध्यारो
लिएर थोरै उज्यालो
आईपुग्यो लिएर क्रिशमस
त्यही
अँध्यारो र उज्यालोलाई
बेरेर आएको ठिही देखेर
जिससले प्यारले पठाए
रोटी र पवित्र पेय
आफ्नै खून र पसिनाको
फुसफुस भेँडाका ऊनहरुसँगै
ओढेर त्यही न्यानो
काटियो त्यो जाडो
गिर्जाघरको घण्टा र
क्यारोलको धुनसँगै ।
बसन्तताका
भर्खर लागेका पालुवामाथि
चेरीका फूल र कोपिलामाथि
चरीका फुल र बचेरामाथि
मौसम / बेमौसम
फाप्रेको डसना ओछयाएर
हिउँका सिरकले कठ्याङ्ग्रिदै
ईष्टर गोधुलीमा
लमतन्न तन्कियो लण्डन
पत्यारै नलाग्ने गरी
एकपटक फेरि ।
साँझको बेमौसमी हिमपात
बिहानैको घामको झुल्कोसँगै
मौसमीमा बदलिन्छ एकाएक
सोचाई न हो
सोचाई सँगसँगै बदलिन्छ सत्यहरु पनि
आत्मसात गर्दै यही बदलिएको सत्यलाई
कोही ह्यारोतिरबाट झरे
कोही साउथलतिरबाट चढे
कोही उलविचतिरबाट आए
कोही रोमफोर्डतिरबाट निस्के
अनि ग्रिनफोर्डको बीचोबीच हुँदै
हिउँको पछ्यौरी ओढेर
कुक्रुक्क परी टुक्रुक्क बसिरहेकी
तीन बहिनी नर्थोल्ट हिल्सतिर
बोकेर ऊन आंगभरि
चिन्तन पूर्वीय मनभरि
बेदाग हिउँको छातीमा
मैलो बुटहरुले कुल्चँदै
गरप……गरप…..गरप…..।
भेटेर जेठी हिलमाथि
रंगीबिरंगी कपडाका ह्याङगरहरु
चिन्तनका धरोहरहरु
सपाट लण्डनका धरोहरहरुसँगै
मितेरी लगाउँछन्
पश्चिमी मित्रताको शैली
स्वीकार्छन अंकमालमा
ओभरकोटहरु बेरिए
दिल ?
बेरिए बेरिएनन् थाहा भएन
बाक्लो ग्लोब्स नखोलेरै मिले हातहरु
मन ?
मिल्यो मिलेन थाहा भएन
गगल्सले ढाकिरहे आँखाहरु
नजर ?
जुधे जुधेनन् थाहा भएन ।
आफ्नै जस्तै मनको खोजीमा
आफ्नै बोली र लोलीको खोजीमा
त्यो चिसो डाँडोमा चलिरह्यो
तातो तातो बहस
र पुग्यो निस्कर्षमा
पूर्वीय हातहरुले
लगाउनु पर्छ छाप पश्चिमी हिउँमा
ठडाउनु पर्छ हाम्रो गौरवको सगरमाथा
अन्तत तातिएका जोशहरु र कर्मठ हातहरु
दिन थाले आकार चिसो हिउँलाई
स-याक …स-याक….ग-याक……ग-याक
छिट्टै थुप्रिदै थुप्रिदै हिउँ
लियो रुप अजंगको
भीमढुङगा जत्रै
गुडाउँदा–गुडाउँदै ठेल्दा–ठेल्दै
अजंगको हिउँ भकुण्डो
अनायासै फुत्किएर कर्मठ हातहरुबाट
पुग्यो फेदीमा एकै छिनमा
नर्थोल्ट हिलको टुप्पोबाट
गल्ड्याङ्ग….. गल्ड्याङ्ग….
हिउँ थपिदै, टासिदै
अझ भयङकर आकार लिएर
र
एकाएक सिरेटोको झोँक्काले सम्झायो
कतिखेर कतिखेर
पत्तै नपाई
हाम्रो शरीरबाट फुत्किएर
हाम्रा टोपीहरु
हाम्रा गगल्सहरु
हाम्रा पन्जाहरु
हाम्रा कोटहरु
हाम्रा ट्राउजरहरु
हाम्रा जुत्ताहरु
त्यही हिउँको भकुण्डोमा
टाँसिएर मिसिएर
तल तल धेरै तल
पहाडको फेदीमा पुगिसकेछ
हामी त एकाएक नाङगो
सर्वांग नाङगो भईसकेछौँ ।
(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक १, अक्टोबर २०१३)