~पवन शर्मा~
म दौडिँदै अतालिँदै
पुलिस थाना पुगेँ
अनि निवेदन गरेँ
महाशय ! मेरो बलात्कार भो
मलाई न्याय बक्स होस्
चकित हुँदै पुलिसले सोध्यो
कहाँ ? कसरी ? को ? कहिले ?
मैले भने हे न्यायकर्ता !
मेरो भावनाको बलात्कार भो
रिपोर्ट लेख अनि मलाई न्याय देउ
दिक्क मान्दै पुलिसले भन्यो
धत् ! यहाँ अस्मिता लुटिनेहरु उल्टै
कालो मोसो खाएर हिँडेका छन्
तिमी भन्छौ भावनाको बलात्कार भो !
न्याय यहाँ मिल्दैन
मलाइ माफ गर ।
म निरास हुँदै डाक्टर कहाँ पुगेँ
अनि निवेदन गरे
महाशय ! उपचार पाउँ
उसले सोध्यो कहाँ ? कसरी ? के भो ?
मैले भने डाक्टर साहव !
मेरो मन फाटेको छ
सिलाइदेउ, उपचार गरिदेउ
निधारमा हातको टेको लगाउँदै
विस्मयमिश्रित आवाजमा उसले भन्यो
यहाँ मुटु फुट्नेहरुको उपचार छैन
तिमी मन फाटेको कुरा गर्छौ ?
महाशय तिम्रो कुनै उपचार छैन
मलाई माफ गर ।
म भौतारिँदै बरालिँदै जंगलमा पुगेँ
रुख मुनि एकनासले ध्यानमा लिप्त
साधुको चरणमा पसारिँदै भनेँ
हे बाबा ! म संसारबाट एक्लिएँ
मलाई आश्रय देउ
बिस्तारै आँखा खोल्दै
शान्त भावमा साधुले भने
म त संसारबाट विरक्तिएर, टाढिएर
यो जंगलमा एक्लै छु
तिमी आश्रयको कुरा गर्छौ ?
बालक ! मलाई माफ गर ।
म चारैतिरबाट हार खाएर मन्दिरमा पुगेँ
जोड जोडले घण्टी बजाउँदै
भगवानलाई भने
हे ब्रह्माण्डका मालिक !
हे ईश्वर ! मेरो पुकार सुन
मान्छेबाट न्याय नपाएर
मान्छेबाट उपचार नपाएर
मान्छेबाट आश्रय नपाएर
म तिम्रो दैलो छिरेको छु
यदि तिमी साँच्चै छौ भने
म सँगै हिँड
र सम्झाइदेउ तिम्रो सृष्टिलाई
अनि मलाई न्याय देउ, उपचार गर
अनि आश्रय देउ
अन्तमा भगवानले दुखित हुँदै भने
म त पत्थर बनेर जमिनमा जकडिएको छु
तिमी सँगै हिंड्ने कुरा गर्छौ ?
आफ्नो बाटो आफै हिँड !
भक्त ! मलाई माफ गर !!
(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक १, अक्टोबर २०१३)