~कमल प्रकाश पौडेल ~
संसार एउटै हुन्छ सानु, कसैलाई काँडा लाग्छ |
कसैलाई नैतिकता त, कसैलाई छाडा लाग्छ ||
समथर सतहमा, चरित्र छन् अनेकथरी |
मनभित्र पस्ने सिंढी, उकाला र ठाडा लाग्छ ||
आफ्नो ठाने आफ्नै हुन्छ, पराई ठाने त्यस्तै सानु |
धनौन्मुख कलियुगमा, दिलको पनि भाडा लाग्छ ||
मान्छे भन्नु संसारै हो, अथाह छ बुझाइमा |
पचाउन नसक्नेलाई, रातदिन झाडा लाग्छ ||
रचनाकाल : २०६८/०८/११ छिपिँदो रात
(स्रोत : रचनाकारको ब्लगबाट सभार)