~दिनेश अधिकारी~
हातमा चुरा, निधारमा टिको, न पोते गलामा
म कति टिपूँ आँसुको फूल वैँशको बेलामा ?
बोलाए हुन्थ्यो बादलले सँगै म जान्थे उडेर
लगे नि हुन्थ्यो खोलाले सँगै म जान्थेँ बगेर
न साथीसँगी, न मेलापात न फुली नाकैमा
म कति बसूँ हेरेर ऐना माइती देशैमा ?
माइती देशैमा नि लै–लै माइती देशैमा
मुटुमा राख्थेँ खसमको माया छातीले छोपेर
सिँगारी राख्थेँ खसमको रूप स्युँदोमा भरेर
दाउरा बल्छ अँगेनीभरि, म बल्छु आँखामा
बुझ्दैन कोही मनको बह यो भीर–पाखामा
यो भीर–पाखामा नि लै–लै यो भीर–पाखामा