कविता : हतारको हाताभित्र

~दिनेश अधिकारी~Dinesh Adhikari

झण्डा हल्लाएर कसैले
लाग्छ, रेल छुट्न लागेको सङ्केत दिइरहेछ
र, मान्छेहरु त्यसलाई समात्ने हतारमा छन्
भर्खरै कसैले
लाग्छ, सिङ्गै सहर
भुइँचालोग्रस्त हुँदै गरेको खबर सुनाएको छ
र, मान्छेहरु भयभीत भागिरहेछन्
अथवा-
लाग्छ, यहाँ यत्तिखेर
म्याराथुन दौड चलिरहेछ
र, मान्छेहरु आँखा झम्क्याउन बिर्सेर कुदिरहेछन्

कलेटी परे होलान् ओठहरु
चायामा अनुवाद भए होलान् गालाहरु
फुर्सद निकालेर एकैछिन
ऐनामा आफ्नो अनुहारको नवीकरण गर्नुपर्ने हो
-भ्याएकेा छैन
आफ्नै आँगनमा आफू बिरानो हुनुको यो कस्तो पन?
दिनहुँ भेट हुन्छ र पनि
साथीसँग
-बिहे गर्यौ्/गरेनौ?
-डेरा कहाँ सरेका छौ?
-तीर्थ गएकाहरु फर्के/फर्केनन्?
सोध्नुपर्ने हो
-भ्याएकै छैन
सधैं हतार छ
सधैँ कुदाकुद छ
न कुनै साँझ
निस्पि्कक्री कतै घुमेर बिताइयो
मायाले-
न स्वास्नी केशराशिमा हात फेरेर
लोग्नेको अभिनय निभाउनै सकियो
न छोराछोरी खुसीमा
कहिल्यै समर्पित हुनै सिकियो
उसैउसै चिप्लिएर
आँखाका डिलबाट
एक कोसी समय बग्यो
एक गण्डकी ऋतु बग्यो
न कुनै दिन
शारदीय घाममा नुहाएर
सुसेली काट्दै
बैँसालु बताससँग जिस्कनै सकियो

लोग्ने हुनुको नातामा
केवल अब
म सिँगार-प्रसाधनका फर्माइसहरु पूरा गर्न सक्छु
प्रिया, बिन्ती !
स्यूँदोको सिन्दूर देखाउँदै
लगनगाँठोको प्रसङ्ग कोट्याएर
मसँग मायाको हास-परिहास नमाग
न्याना/न्याना स्पर्शको रात नमाग
बाबु हुनुको नातामा
मात्र अब
म तिम्रो स्कुले फी र सिनेमाखर्च जुटाउन सक्छु
रगतको नाता सम्झाएर
छोरो, क्षमा !
मसँग स्नेहको हात नमाग
मसँग बाबुको काख नमाग

यो, अन्त्यहीन हतारको चाबुकभित्र
यो, अन्त्यहीन हतारको हाताभित्र
अनुभूतिमा
म आफैँले पनि नबुझेको कहाँ छु र?
कोखोबाट सास फेर्दै
आँखाबाट भागिरहेको ज्यूनुलाई हेरेर
मान्छेहरु ओताउन/सुस्ताउनको आशयमा
आँगनजत्रो काख पसारिरहेको
घरअघिल्तिरको
यो पीपलको बोट
पातपातबाट
तातो ब्यङ्ग्य हम्किरहेछ मेरो अनुहारमा :
हतार !
हतार ! !
हतार ! ! !
मान्छेलाई अचेल मर्नेसम्म पनि फुर्सत छैन
-हतार छ

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.