कविता : हट् घोडा हट् !

~दिनेश अधिकारी~Dinesh Adhikari

ममाथि पिठ्यूँमा बसेर हात उठाऊदै
यत्तिखेर–
मेरो सानो छोरो
तोते बोलीमा ‘हत् घोरा हत्’ भनिरहेछ
र, चार हात-खुट्टाहरु टेकेर
म, घोडा भाँतीमा घोप्टिएको छु
ऊ, आफ्नो इच्छानुसार मलाई
घरि, पूर्व हिँडाउँछ
घरि, पश्चिम फर्काउँछ
म उसका आदेशहरु पालन गर्दै
मनमनै सोचिरहेछु–
मान्छेको जिन्दगी धेरै हदसम्म घोडाकै नियति रहेछ
र, ढल्किँदो उमेर सँगसँगै हरेक मान्छे
आफ्नो लागि कम र अरुहरुकै लागि ज्यादा बाँच्ने गर्दोरहेछ
र त–
यी ! अहिले म छोराको घोडा भएको छु
हाँस्दा पनि त आफू कहिले हाँसियो र उन्मुक्त ओठले?
सधैँ परिस्थितिकै पुच्छर समातेर दाँत ङिच्याएको छु

‘बाबु’ भएपछि
सायद जो कोही लोग्ने मान्छेले भन्छ
‘आमा’ भएपछि
सायद जो कोही स्वास्नीमान्छेलाई लाग्छ-
खै ! कहाँ छ जिन्दगीमा स्वतन्त्रता?
म, अहिले बीच सडकमै थुनिएको छु
म, अहिले गुलियो चपाउँदा चपाउँदै कुँडिएको छु
लाग्छ–
आफ्ना खुसीका दिनहरु त
मैले ‘चीँ मुसी चीँ’ सँगसँगै छाडिसकेँ
स्वतन्त्रताका गगनभेदी गीतहरु त
मैले भातका सितासँगसँगै साटिसकेँ
तै पनि अझै अरुले मान्छेकै सँज्ञा दिन्छन् भने म के भनूँ?
हैन भने
अहिले त -बस !
हट् ! हट् ! ! हट् ! ! !
मुखभरि लगाम खिँचिएको
मात्र एउटा घोडा हुँ म
कहिले छोराको . . .
कहिले घोडाको . . .

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.