~दिनेश अधिकारी~
उ भनिरहेथ्योः
अनुशासनहीनताको पनि एउटा हद हुन्छ
म यो देशको शासक पो हूँ त
मेरो अनुमति विना नै
खोलामा लहरहरु उठिरहेछन्
आफु खुसी फक्रिरहेछन् कोपिलाहरु
बिना हिचकिचाहट नाँचिरहेछन्
हाँगा/हाँगामा फूलका पातहरु,
चराहरु चिर्विराईरहेछन् मनलागि
सूर्य, आफूखुसी
बादलसँग लुकामारी खेलिरहेछ
निर्लज्ज ! जड्याहा जस्तै
लटपटिदै बहिरहेछ बतास
सोध्दै नसोधी
रङ्ग फेरिरहेछ छेपारो
र, धमाधम
ऋतु परिवर्तन हुँदै गई रहेछ
मेरो उपस्थितिलाई देख्दै नदेखे झै
कुखुरो, सिउर उचालिरहेछ
बारी, विरुवा उमारिरहेछ
भन त ! यो कस्तो उद्दण्डता?
आकाश, आफूखुसी वर्षिरहेछ
बादल, बौलाहा जस्तो गर्जिरहेछ
आखिर शासक हुँ नि
कसरी सहन सक्छु म यस्तो अनादर?
मेरो इच्छाको कुनै पर्वाह नै नगरेर
हिमाल, झन झन अग्लिइरहेछ !
तपाईलाई कस्तो लाग्यो उसको तर्क?
उसको कुरा सुनेपछि
मलाई भने अब एकीन भइसकेको छ-
तर्क, साच्चै नै नकच्चरो हुँदोरहेछ !
शासक जस्तै
तर्क, आफैमा लवस्तरो हुँदोरहेछ !!