~दिनेश अधिकारी~
मेरो भन्नु ओताउन छानु पनि छैन
पैँचो दिन अन्न छैन, मानु पनि छैन
कसोगरी काट्नु जुनी ? कहाँ राख्नु मन ?
किसान हुँ तर आफ्नो खेतबारी छैन
कतिचोटि प्यास पनि पसिनाले मेटेको छु
हलो–फाली छैन भने हातले नै जोतेको छु
कहिले लाएँ नयाँ लुगा ? आफैँलाई थाहा छैन
सलहको आसजस्तो जिन्दगानी भोगेको छु
खानुभन्दा ठूलो छैन मेरो लागि केही कुरा
जे छ आफ्नै पाखुरी छ, छैन कैँची, छैन छुरा
बत्ती छैन, बाल्नुपर्छ राति पनि आफ्नै आँखा
बिक्छ अरे हाम्रो नाउँ योजनामा पूरापूरा !