~दिनेश अधिकारी~
मलाई नजरको ईशारा नदेऊ
मलाई अधरको पुकारा नदेऊ
बरु आँसु देऊ, अँजुली म थापूँ
अँगालो फिँजाई कुनै लोभ नदेऊ
यो तृष्णाको नाता कति टिक्न सक्छ ?
यो शीतको बिहानी कति खेल्न सक्छ ?
तिमीमा जब यो मधुमास नहोला
तिम्रै हात म छोडूँ— के यो सह्य होला ?
यो प्रीतिको बन्धन कुनै खाल हैन
यो मन हो; बिकाऊ कुनै माल हैन
बटुलेर तिर्खा म कुन प्यास मेटूँ ?
अँधेरो जँघार यो कसोरी म हेलूँ ?
तिमी मस्किदिन्छ्यौ सबै मात पिएझैँ
सधैँ होस हराई म कुन बास भेटूँ ?
हो यात्रा यो जीवन, कुनै खेल हैन
यो मन हो; भदौरे कुनै भेल हैन
शब्द : दिनेश अधिकारी
सङ्गित / स्वर : प्रकाश श्रेष्ठ