~दिनेश अधिकारी~
उज्यालोमा
फूलहरु फुल्छन्
चरा चिरबिराउँछन्
सुकाउँछन् किसानहरु खेतमा
धानका निहिनहरु
र, भत्केका पुलपुलेसाहरु बनाउँछन्
गृहिणीहरु-
कुनाकाप्चाका कसिङ्गर बढार्छन्
दैलो र आँगन लिपपोत गर्छन्
माकुराका जाला हटाउँछन्
धुन्छन्, मैलिएका लुगाफाटाहरु
र, मयल छोडाउँदै छोराछोरीका जीउबाट
उनीहरुलाई सुग्धर राख्न
त्यसैमा तल्लीन रहन्छन्।
चिम्टामा उज्यालो च्यापेर
सर्जरी गर्न थाल्छन् चिकित्सकहरु
अक्षरको उज्यालो टिपेर
कर्ममा समर्पित हुन्छन्
वकिल, प्राध्यापक र अध्येताहरु !
उज्यालोमा
छ्याङछ्याङती देख्न सकिन्छ
सृष्टिका यावत् रचना
र, तिनको सुन्दरता
उज्यालो, उत्सव हो त्यसैले
उज्यालोमै रमाउँछन्
प्रेमीप्रेमिकाहरु
सन्तमहात्माहरु
बालकवृद्धहरु
एउटा तिमी छौ
आफ्नो परिसरमा
कतै उज्यालो छिर्ला भनेर सधैँ चिन्तित रहन्छौ।
भन !
तिमी किन उज्यालोसँग डराउँछौ यसरी?
के तिमी अत्याचारी हौ?
के तिमी व्यभिचारी हौ?
के तिमी षड्यन्त्रकारी हौ?