~दिनेश अधिकारी~
१. ए नवजात शिशु !
तिम्रो नाममा
मलाई एउटा शोकगीत गाउन मन लागेको छ
२. भातका सिताहरु बटुल्नुबाहेक
जिन्दगीमा-
अर्थोक केही गर्न नसकेपछि
घाइते भएको छ आफैँबाट आफ्नो मन
र, मस्तिष्कभरि-
चेतनाको पीडा
खरबारीमा डढेलो लाग्नुको हाराहारीमा चिलाउन थालेको छ
रेटेर चेतनाको घाँटी
आफूलाई जोगाएँ त के भयो?
जिन्दगी-
खोलाबाट पोखरीमा फ्याँकिन आइपुगेको छ
र, कमाइको नाममा
आजसम्मको आफ्नो जिन्दगी
आफैंमा फुटेको हाँडी भएको छ
म साँच्चै भन्छु-
बिर्सूं भन्दाभन्दै पनि
तिम्रो अनुहारको निर्दोषिता देखेपछि
झलझली सम्झना हुन थालेको छ आफ्नै विगतको
र, फेरि एकचोटि
पेटको कीराले
चेतनाको घाँटी निमोठ्ने इतिहासको पुनरावृत्ति
प्रायः निश्चित हुन गएको छ
यस्तो बेला
भन, के अर्थ रहन्छ मेरो निस्तो शुभकामनाको?
ए नवजात शिशु !
तिम्रो नाममा
मलाई एउटा शोकगीत गाउन मन लागेको छ
३. सबै थोक छ
केवल शान्ति छैन धर्तीमा
र, घर
अचेल लडाइँको मैदानमा अनुवाद भएको छ !
कसैलाई कसैसँग विश्वास छैन
लोग्नेलाई स्वास्नीसँग अविश्वास छ
बत्तीलाई दियोसँग अविश्वास छ
फैलिएर क्षितिजसम्म पुगेको छ-यो
भर्यारङलाई भुइँसँग अविश्वास छ
यात्रीलाई ट्राफिकसँग अविश्वास छ
फूललाई डालीसँग अविश्वास छ
शङ्कै छैन
अब त मर्नुअघि
आफ्नो चिहान पनि
आफैंले खन्नुपर्ने समय आएको छ
यस्तो बेला
खै, के काम लाग्छ-तिम्रो निश्छल मुस्कानको?
ए नवजात शिशु !
तिम्रो नाममा
मलाई एउटा शोकगीत गाउन मन लागेको छे
४. विष पचाउने अर्थमा
अब कुनै पनि मान्छे
महादेवभन्दा कमजोर भेटिनै सक्तैन
आजकाल-
सासमा बारुद
र, काखमा पूतनाको संस्कार हुर्कन थालेको छ
वेदनाले नीलो भएको छ आकाशको छाती
र, धर्तीको काख
सधैं नै शकुनिको हर्षोल्लासमा अनुवाद भएको छ
डरले थरर्र काँपेका छन् गुलाफका पत्रहरु
र, मान्छे-आँखामा
सपनाभरिको विश्वास पनि डगमगाएको छ
यस्तो बेला
कसले बुझ्छ तिम्रो आँखाको प्यारो अनुरोध?
ए नवजात शिशु !
तिम्रो नाममा
मलाई एउटा शोकगीत गाउन मन लागेको छ