कविता : इतिहास

~दिनेश अधिकारी~Dinesh Adhikari

अर्को विकल्प छैन
र, आफू बसिरहेको ठाउँमा
कसैले हस्तक्षेप जमायो भने
मान्छेले
कि त माटोमै मिल्न राजी हुनुपर्छ
कि त उसकै टाउकोमा आफ्नो खुट्टा राख्नुपर्छ
इतिहासको नाममा
यही एउटा ज्ञान सर्वत्र छाएको छ
इतिहासको नाममा
यही एउटा सत्य प्रस्ट भएर आएको छ

यी सबै कुरा जान्दाजान्दै
अहिले पनि
तिमी चुसिरहेकै छौ
म सुकिरहेकै छु
तिमी पुगिरहेकै छौ
म छुटिरहेकै छु
सम्झन पनि अब त गाह्रो भइसक्यो
अन्तिमपल्ट
कहिले निदाएँ
र लहलहाउँदा सपनाका बालीहरु भित्र्याएँ मैले
अहिले त आँखाले अँध्यारो मात्रै ओकल्छ
भन्न सक्तिनँ
अन्तिमपल्ट
कहिले मुस्काएँ
र, घामको सुकिलो ओछ्यान ओछ्याएँ मैले
तिमी एकनास घचेटिरहेकै छौ
छेउ लाग्दालाग्दै
म, सडकबाट भीरमा आइपुगेको छु
तल
सुरुङ-भाँतिमा कहालीलाग्दो खोला बगिरहेछ
र, म त्यसको तीरमा आइपुगेको छु
छेउ लाग्न अब मसँग ठाउँ छैन
र, आफ्नो तर्फबाट मृत्युलाई वरण गर्न पनि म तयार छैन
स्थिति, त्यसैले पनि निर्णायक क्षणमा आइपुगेको छ
र मात्र अब-
मैले आफूलाई इतिहासको छात्र प्रमाणित गर्न बाँकी छ
र मात्र अब-
आफूले जानेको इतिहासलाई
मैले वर्तमानमा अनुवाद गर्न बाँकी छ

अर्को विकल्प छैन
र, आफू बसिरहेको ठाउँमा
कसैले हस्तक्षेप जमायो भने
मान्छेले
कि त माटोमै मिल्न राजी हुनुपर्छ
कि त उसकै टाउकोमा आफ्नो खुट्टा राख्नुपर्छ
इतिहासको नाममा
यही एउटा ज्ञान सर्वत्र छाएको छ
इतिहासको नाममा
यही एउटा सत्य प्रस्ट भएर आएको छ

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.