कविता : विकासोन्मुख देशको मान्छे

~दिनेश अधिकारी~Dinesh Adhikari

अनुहारमा –
‘क्षय’ को आफ्नै एक्सरे टाँसेर
निरन्तर जिन्दगीसँग युद्ध बोल्दै
पोल्टाभरि ठेसका बालीहरु थापेर
आफैँलाई आफ्नो टाङमुनि छिराएर – चटकेले जस्तो
वा, बोक्न नसकेर भारी
जेब्राक्रसको हाराहारीमा
डङ्ग्रङ्ग बीच सडकमा लडेको कसैलाई देखियो भने
प्रिय बटुवा !
खबर पठाइदिनू – कोही हात
पोस्टरमा आफ्नो अनुहार खोज्दै हिँडेको
– ऊ मेरो छिमेकी हो

छातीमा –
ठूलो साइनबोर्ड झुन्डयाएर
वा, आँखामा
अनुनयको बिस्कुन सुकाएर
साँझ/बिहान
अस्पतालअघिल्तिरको पेटीमा
अथवा, रेडक्रसको कुनै भवनअगाडि
रगत बेच्न आतुर
दमकल घरमा आगो लागेजस्तो !
कुनै तन्नेरी अनुहार देख्नुभो भने
प्रिय, मान्यजन !
दया राखेर
अलिकति रगत किनिदिनू – उसको
रगत बेचेर

डक्टरको फी चुकाउन निस्केको
ऊ मेरो एक्लो छोरो हो

कुनै कलाकारले
बनाउन सुरु मात्र गरेर छाडेको मूर्ति जस्तो
भीर खोस्रँदा खिइएका
औँलाविहिन हातहरु
बगर-यात्रामा साटिएका
छियाछिया पैतालाहरु
र आफूभन्दा तेब्बर वजनको भारी खोज्दा थिचिएको
फिस्टे छातीसहितको आकृतिसँग
हिँड्दाहिँड्दै बाटोमा जम्काभेट भयो भने
ओठमा मुस्कानको रेखी छैन भनेर
आँखामा उन्मादको चहक नदेखेर
प्रिय पर्यटक !
भूत भनेर ऊसँग नतर्सनू
बिहान/बेलुकी
मैले ढोग्ने गरेको आस्थाको प्रतीक
-ऊ, मेरो बाबु हो
ऊ, विकासोन्मुख देशको नागरिक हो

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.