~दिनेश अधिकारी~
नाम्लोमा खापी डोकाको भार
हिँड्नु छ सधैँ उकालो भीर
कहाँ बस्छ कुन्नि मान्छेको द्यौता
देख्दैन क्यारे दुःखीको पीर
खुट्टाले टेक्न नसक्ने ठाउँ
शिरले टेक्तै म पुग्छु गाउँ
बाटैमा मरे रोसीले निल्छ
बाँचे नि मेरो क्यै छैन भाउ
पिठ्युँमा बोकी अर्काको दसैँ
लेक र बेशी म गर्छु सधैँ
किताबी कुरा बुझ्दिनँ म त
बाँच्नको लागि मर्दै छु सधैँ
चौतारोजस्तै भो मेरो ज्युनु
विपत्ति पर्दा क्वै छैन आफ्नु
निचोरी आफ्नै पसिना–दाना
भर्नु कि पेट रोएर मर्नु ?