~दिनेश अधिकारी~
स्टाफ होटल खोलेर
बाटोमा भात बेच्ने
ठूली, साहिली वा कान्छीलाई जत्ति पनि
समय दिन भ्याएको छैन
आफ्नी स्वास्नीलाई
यो सत्य हो !
बाटैमा नुहाएको छु, बाटैमा खाएको छु
आजको बास कहाँ पर्छ भन्नेसम्मको
टुङ्गो नहुँदा नहुँदै पनि
यस्तै हो जिन्दगी भनेर
पापी पेटकालागि
घरि घरि आफैंलाई फकाएको छु
यो सत्य हो !
साहुको ट्रक मेरो जिम्मामा छ
म घुमाउँछु यसको स्टेयरिङ्ग
र, सट्टामा-
आफ्ना रङ्गिन सपनाहरु
साहुको जिम्मामा छोडेर आएको छु !
कुदाएको कुदायै छु यो ट्रक
ट्रकको गन्तव्य भेटिन्छ, आफ्नो भेटिदैन
गुड्ने बाहेक पुग्ने ठाउँ हुँदैन कि क्या हो ड्राइभरको?
सोझो ढाड कुप्रिसक्ता पनि
सुधि्रन नसकेको आफ्नो अबस्था देख्दा
लाग्छ, कहीं यस्तो त होइन-
ज्यानै जाने एउटा दुर्घटनाको खोजिमा
हेडलाइट बालेर – राती पनि
म, ट्रकको स्टेयरिङ्ग घुमाइरहेकै छु !
एक्सिलेटर दवाइरहेकै छु ! !