कविता : जुम्ला

~दिनेश अधिकारी~Dinesh Adhikari

पहाडैपहाडको बीचमा
अर्घौतो आकारको
बिनानिकासको
पोखरी भएर बसेको छ जुम्ला।

दौराको बाहुला र फेरले
बिरामी सिँगान पुछ्दापुछ्दै
नाकभरि कटकटिएर
आफ्नै सासमा गनाएको छ जुम्ला।

ढुङ्गै चपाएर भए पनि
पेटभरि अघाउन पाए
मानौं अर्थोक केही चाहिँदैन
अरु त अरु
दूधमुखे बालककै पेटहरुमा
भोकाएको छ जुम्ला।

यो बर्ष पानी परेन
यो बर्ष हिउँ झरेन
धामीझाँक्री पनि उफ् ! कति लगाउनु?
आफ्नै नौनारीमा फत्रक्क गलेर
माटाका हरेक छानामुनि
सोकाएको छ जुम्ला।

देखे, जुम्ल्याहा पहाडहरुले देखेका छन्
यसको छटपटी र घाउहरु
सुने, बग्दै गरेको तिला र जवाले सुनेका छन्
यसका सुस्केरा र क्रन्दनहरु
अरु त खै !
कसले हेर्योर र?
चन्दननाथको घण्ट, लिङ्गो र ध्वजासहित
मानौं आफ्नै देशको मानचित्रबाट
बेखबर, कतै हराएको छ जुम्ला !

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.