~चंकी श्रेष्ठ ‘अभय’~
खाली छन् है प्रगतिका पाना यता गाउँतिर
चुहेका छन् हिजोजस्तै छाना यता गाउँतिर
बगेका छन् यति धेरै पसिना र रगत तर
सुनिदैन जिन्दगीको गाना यता गाउँतिर
देखे पनि नदेखे झैं सधैं सधैं मौन बस्दा
भएछौं कि हामी सबै काना यता गाउँतिर
पौरखी छन् हातहरू, तर कुनै मूल्य छैन
मान्छेहरू सबै-सबै साना यता गाउँतिर
मिच्नेले त यता पनि मिचेकै छन् कानूनलाई
तिमी हामी जस्तालाई ठाना यता गाउँतिर
(स्रोत : प्रतिनिधि नेपाली गजलहरू – गजल सङ्ग्रह – सम्पादन : ललिजन रावल)