~नवराज लम्साल~
गिलासहरू रित्याएर आफूलाई भरिरहें
त्यै मोरीलाई सम्झिएर आँखाबाट झरिरहें
पाइलैपिच्छे खतरा छ, पाइलैपिच्छे मृत्यु भेट्छु
एकै पल्ट बाँच्नलाई धेरै पल्ट मरिरहें
जहाँ टेक्छु मरुभूमि जहाँ देख्छु आगो लाग्छ
आफैं यात्री आफैं खोला आफैंमाथी तरिरहें
टेक्नेसम्म ठाउँ छैन खाने दाना-छाना छैन
ठूला-ठूला फाँटभरि जूनको सपना छरिरहें
दुई डुंगामा चढ्नेहरू कहिले वारि कहिले पारि
सङकटको धारले रेट्यो दोधारमा परिरहें
(स्रोत : प्रतिनिधि नेपाली गजलहरू – गजल सङ्ग्रह – सम्पादन : ललिजन रावल)