~स्वप्निल स्मृति~
सुँगुरपाठा व्यापारी दाजुको काँध न हो देउराली
ढोगें र घोडा चढें …
औंशीहाटमा टाढैबाट चोर औंलाले
हजूर चिनाइदिने गल्ती गरें जो !
त्यही दिन हारें दाजुसँग ।
यो चट्याङहरुको देशमा
मैले माया लाउन जानिनँ
हजूरसँग हाटमा बोल्न नसकेको झोंकमा
हँसियाले ठुँगें चौतारोको ढुङ्गा, बरको रुख
पीपलको खप्टिएको जरामा
हजूरको शरमलाग्दो डोब हेरेर त्यसै त्यसै लजाएँ
दाजु चिठी लेख्न नजान्ने माया लाउन जान्ने
म मुलाङ् माया लाउन नजान्ने चिठी लेख्न जान्ने
‘हजूरलाई सागरभन्दा गहिरो/आकाशभन्दा फराकिलो माया…’
दाजुलाई थुप्रैथुप्रै चिठी लेख्दिएँ हजूरको नाममा
हजूरले पाउने प्रत्येक चिठीमा
दुइटा मुटु ढुकढुकिन्थ्यो, थाहा पाउनुभयो/भएन
दाजुको नाममा हजूरलाई आएको पहिलो चिठी मेरो थियो
त्यो दाजुलाई पनि थाहा छैन
जहाँ मेरो मात्र निक्खुर माया थियो
जहाँ साँच्चिकै चोखो माया थियो
जहाँबाट मायाले अर्कै मोड लियो…
विरक्तिएँ, बाँसका बोटमा पालाम कोपें
दाजुले चोया काढ्नुभो र पेरुङ्गा बुन्नुभो !
जुन दिन हजूरसँग धान नाच्ने कसम खाएर हाट आएँ
त्यैदिन दाजुले हजूरलाई घरजम गर्न तान्नुभो
के गर्नु ?
दाजुलाई अलिअलि तान्न सघाएजस्तो गरेको
हजूरको माया यति लाग्यो .. यति लाग्यो
थाहै भएन
हजूरलाई काँधमा हालेर दाजुको घर पुर्याइदिएको…
सुँगुरपाठा व्यापारी दाजुको काँध न हो देउराली
ढोगें र घोडा चढें…
भाउजू, यो देउराली घोडाको जुरो मेरो पराजयको ध्वजा
फर्फराउँदै, निमोठ्दै … तब म लागें कतै …
(स्रोत : हिमाल खबर ३ कात्तिक २०७०)