~जीवन शाही~
दुर्योधनको अभिमान
शकुनि षडयन्त्रको जालमा
उसको अस्तित्वलाई सुली चढाउन
स्वतन्त्रता र समानताका ढ्वाङ फुक्नेहरू
न्यायका गफ हाँक्दै
एकाएक सलवलाइरहेका छन्
कुटिल षड्यन्त्रका माहिर
शकुनिहरू पासा ढालिरहेका छन्
महाभारतमा द्रौपदीको वस्त्रहरण गरेझैँ
दुशासन अवतारीहरू
उसको अस्तित्व र अस्मिता लुटिरहेका छन्
वृन्दावनका पोखरीमा
गोठाले कृष्णले
गोपीनी नङ्ग्याए झै
उसको प्रतिष्ठाको वस्त्र
एक–एक गरी लुटिरहेका छन्
तथापि
उसले टुक्रिएका सपना
चिथोरिएको आत्मालाई
एक मुठ्ठी साहसले जोड्दै
आँशुका अँजुलीले मुहार पुच्छदै
सत्यताको विजयको दिन
पर्खिरहेको छ
निलगगनमा मडारिएका
काला बादलका डल्लाहरू
जुनेली रातका मधुर किरण छोप्न
धर्ति अन्धकार बनाउन
लालयित भइरहेका छन्
तापनि ऊ
धिप–धिपे मधुर किरण धर्तिमा छर्दै
उज्यालो प्रकाश फैलाइरहेछ
निष्पट्ट कालो रातलाई भगाइरहेछ
नौलो विहानीलाई
रातो क्षितिज माथिबाट बोलाइरहेछ
सन्नाटा छाएको वस्तिभरी
रत्तिभर विचलित नभएर
मुक्तिका मधुर किरण
पीडा लुकाएर भए नि
उत्साहका साथ छरिरहेको छ
उसका अबोध सपनाका
आस्थाका भ्रूणहरूलाई
गर्भै मैतुहाउन
उसको सङ्घर्षबाट जन्मिएका
शिशुहरूलाई
फाँसीको सुली चढाउन
खोक्रा सिद्धान्तका पुजारी सैतानहरू
अनेक छलकपट गरी
एक्कामाथि तुरूप लगाउँदै
मुुसा र विरालोको खेल खेलाउन
नतमस्तक भएर लागिरहेका छन्
तर पनि ऊ
ती सबै दुष्टहरूका चालवाजीसँग
निर्भिकताका साथ
मुक्तियुद्धको घोषणा गरिसकेको छ
आफ्नो अस्तित्वको नामेट पार्ने
महाभारतको चक्रव्यूह चिर्न
संयमता र धैर्यताका साथ
सत्यको विजयको दिन
छिट्टै उदाउँने प्रतिक्षामा
ती दुष्ट अन्यायीहरूका विरूद्धमा
विद्रोहको ज्वालामुखी दन्काउँने घडी
पर्खिरहेको छ
उसलाई विश्वाश छ
एक दिन पक्कै पनि
उसका सपनाहरूलाई खन्डित पार्न
रातारात पासा ढाल्ने शकुनिहरू
अभिमानी दुर्याेधनहरू
निर्धाहरूका गला रेट्ने
हिरण्यकश्यपहरू सम्पूर्णको
अन्त्य हुनेछ
त्यसैले,
खबरदार दुष्टहरू हो
तिम्रो राज अन्त्य हुँदैछ
तिमीहरूसँग एक–एक गरि उसले
हिसावकिताब बराबर गर्नेेछ
अनि,
पापीहरूको राज अन्त्य हुनेछ
उसका सपनाका भू्रणहरूले स्वतन्त्रतापूर्वक
जन्म लिनेछन्
आस्थाका शिशुहरू
रातो घामसँगै हुर्किनेछन्
अस्तित्वरक्षाको लडाइँमा
वस्त्रहरण गर्नेहरू
समाधीमा विदुर बन्नेछौँ
समय यूधिष्ठिरको
सत्यवादको ढोल ठोकिरहेछ
ऊ आफ्नो विजययात्रामा लम्किरहेछ ।
२०६८÷८÷२, वीरेन्द्रनगर
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ५ – Dec. 07, 2011 – २०६८ मंसिर २१ गते, बुधबार )