~ज्ञानुवाकर पौडेल~
जिन्दगी छैन अचेल जिन्दगी जस्तो हेर्नुस् न !
मान्छे भो आज यहाँ कति सस्तो हेर्नुस् न !!
हत्या र ध्वंशका यी क्रुर शृंखलाहरू किन ?
सुनेर पनि सब गर्छन् नसुने जस्तो हेर्नुस् न !!
कुरा चपाउछन् कोही यहाँ हाम्रो खुट्टा तान्छन्,
दुनियाँमा हुन्छ के अन्त पनि यस्तो हेर्नुस् न ?
बाँचियो जिन्दगी यो ख़ुब मजाले भोगियो पनि,
जिउनुको स्वाद छ तर कति निस्तो हेर्नुस् न !!
पुरानो चोट बल्झेर आयो फेरि आज दुखेर आयो
कहिल्यै बिसेक नहुने घाऊ यो कस्तो हेर्नुस् न !!
कटुवाल बिते, भूपि बिते, बितिन् पारिजात पनि,
मलाई’नि हिजोआज सन्चो छैन उस्तो हेर्नुस् न !!
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)