~दीपकजङ्ग हमाल~
अचेल
हर रात सपनाहरु खण्डित हुन्छन्
परिवर्तनको क्रान्तिमा उर्लेको भेल
एक घुट्को पानीको लाइनमा देख्छु
प्रतिनिधि चुन्ने मतदाताको लस्कर
केही लिटर पेट्रोलको याचनामा देख्छु
जन प्रतिनिधिहरु बाटै
अपहरित भएको देख्छु म या मेरा सपनाहरु
सर्वहाराका मुक्तिदाताहरु
सम्पत्ती स्वार्थमा लिप्त देख्छु
क्रान्ति नायकहरु सडकमा
हात पसारिरहेका देख्छु
सुकुलगुण्डाहरु सहिद र
सहिदहरु बहिस्क्रित देख्छु
अर्थात, अचेल
हर रात सपनाहरु खण्डित हुन्छन्
रक्षकहरु भक्षक देखिने
आफ्नहरु पराई देखिने
असलहरु खराब देखिने
शायद
अचेल सपनामा पनि
लोड्सेडिङ हुन्छ क्यारे !
माघ ३ गते २०६८
(स्रोत : नेपाल टेलिभिजनको २७औं स्थापनाजयन्तीको अवसरमा पहिलो पुरस्कार जित्न सफल कविता)