संस्कृति परिचय : किरात चाड उभौली/उधौली पर्वः बारे प्रचलित मिथकहरु

~अतित मुखिया~Atit Mukhiya

१.प्रारम्भिक कथन

विश्व मानचित्रमा सानो राष्ट्र भएरै पनि नेपाल बहुजातीय, बहुभाषिक, बहुधर्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र मानिन्छ । यही बहुलता भित्रको पनि अर्को बहुल बिशेषता हो किरात जातिका संस्कार र संस्कृति । एउटै किरात धर्म मान्ने भएरै पनि किरातमा बिविध भाषा-भाषीका छन र केही फरक संस्कार भएरै पनि फेरी एउटै संस्कृति छ । यसैले नेपालका किरातहरुलाई बुझनु पर्दा बिविध समुदायमा बिभक्त एउटै सम्प्रदाय भनेर बुझनु पर्ने हुन्छ । विद्वानहरुको मत अनुसार ५९ आदिवासी/जनजातिहरुमध्ये अधिकांश जातिहरु प्राचिन नेपालमा ३३ पुस्तासम्म शासन गर्ने किरात बंशका सन्तान हुन । राज्यले एकल भाषा, धर्म, संस्कृति लाद्ने क्रममा कतिपय किरातहरुले आफ्नो स्वपहिचान लुकाउन बाध्य हुन पुगेको पाइन्छ । तथापि, आदिवासी/जनजातिहरुको स्व–पहिचान भाषा, धर्म, संस्कृतिको जर्गेना गर्ने आत्मनिर्णनयको आधारमा चार किरात कोइँच (सुनुवार), याक्खा, लिम्बु र राईहरुले मात्र आफुलाई किरात बंशको शाखा हौ भनि आफ्नो परिचय दिदै आएकोमा, हाल आएर धिमाल, हायु, जिरेल, सुरेल तथा थामीहरुले पनि आफुलाई किरात बंश अन्तरगतका जातिका रुपमा परिचय दिन थालेको पाइन्छ र यी जातिहरु किरात बंश अन्तरगतका जातिहरु हुन पनि । यीनै अधिकांश किरातहरुले मानि आएको भूमि पुजा, चुलापुजा, इन्द्रेणीपुजा, ढोकापुजा, मूलथाम पुजा जस्ता सामाजिक संस्कारको सांस्कृतिक महत्वको रुपमा किरात चाड उधौली/उभौलीमा यो केन्द्रित रहने छ ।

२. किरात उभौली/उधौली पर्वः बारे प्रचलित मिथक

किरात सभ्यताको सरूवात शिकारी पेसाबाट जीवन निवार्ह गर्ने अवस्था देखिनै पूर्खा र प्रकृति पूजाको परम्परा सुरु भएर खेतीपती गर्न थालेपछि पनि प्राकृतिक तथा पूर्खा पूजालाई किरातहरुले निरन्तरता दिदै आए । पञ्च महाभूत शक्तिलाई आत्मसात गर्दै आगो पुज्नु, पानी पुज्नु, बायु पुज्नु, भूमि ढोग्नु, आकाश ढोग्नु, जस्ता बोन आचारसंहिता पालना गर्दै प्रकृतिको सम्मान गर्दै आए । अझ खेतीगर्न थाले पश्चात् किरातहरूले उधौली र उभौली गरेर वर्षको २ पटक प्राकृति तथा पूर्खा पुजा गर्ने एक सुनिश्चित परम्पराको थालनी गरे । सुरुमा अन्नबाली लगाउने याममा तथा आफूले लगाएको अन्नबाली पाकपेछि भित्राउँदा, नयाँ अन्न पितृहरूलाई अपर्णगररे मात्र खाने परम्परा विकास गर्दै गए । यसरी मनाइने चाड किरात समुदायहरुमा गुराँस वा आरु फुलेको याम, जुनबेला चराहरु तथा खोलाका माछाहरु उत्तरतिर लाग्छन्, सो यामलाई बाली लगाउने याम मानेर अन्नबाली सप्रियोस् सहकाल होस् भन्ने कामना गर्दै उभौली र पैयुँ फुलेको याममा जुन समय चराहरु र खोलाका माछाहरु दक्षिणतिर लाग्छन, सो यामलाई अन्नबाली भित्राउने याम मानेर नयाँ अन्नबाली प्रकृति र पूर्खालाई चडाएर सुःख समृद्घिको कामना गर्दै उधौली पर्व मनाइन्छ । आदिम युगमा शिकारीका रुपमा परिचित किरातहरुमा शिकार नपाउदाका अवस्थामा कन्दमुल खान सिकेका र काँचो कन्दमुल खाँदा बिरामीपरी अन्नबाली लगाएर खेतीगर्न उत्प्रेरित भएको सम्वन्धमा किरात मुन्धुम/मुक्दुममा बिभिन्न मिथकहरु रहे भएको पाइन्छ ।

क. लिम्बू मिथक
लिम्बु मुन्धुम अनुसार काँचो कन्दमुलका कारण रोगी हुनबाट जोगिन तागेरा निङ्माफुमाङ्को आरधना गरेर उनैका कृपाबाट अन्नका बिभिन्न बिउ बिजन प्राप्तगरी अन्नबाली लगाउन सक्षम भए पश्चात जतिजति मानिस सम्पन्न भए त्यति नै घमण्डी पनि हुदैगए । अहंकारी बनेर तागेरा निङ्वाफुमाङ्लाई पूज्नै छाडे । त्यसैले मनिसलाई चेतावनी दिनका लागि तागेरा निङ्वाफुमाङ्ले खडेरी पारी दिए । जसको परिणामस्वरूप चारैतिर अनिकाल परेर हाहाकार भयो । हाहाकार मच्चिएपछि माङ्हाङ्ले समधानको उपाय पत्तालगाउन हाङ्चुम्लुङ (राजसभा) बोलाएर उक्त चुम्लुङमा हाङ्फेदाङ्मा (राजपुरोहि)लाई अनुरोध गरे । माङहाङको आदेश शिरोपरगरी हाङ्फेदाङ्माङले दिव्यदृष्टिद्वारा खडेरीको कारण पत्ता लगाए र माङ्हाङ् समक्ष खडेरीको कारण जाहेर गरे । अनिकाल समाधानको उपायमा बाली लगाउने बेला “याक्वा माङ्घ” उभौली र बाली पाकेपछि “चासोक ताङ्नाम” उधौली, सालना गरी तागेरा निङ्वाफुमाङ्को पूजा आरधना गरे अनिकाल हट्ने बताए । हाङ्फेदाङ्माङको यस्तो कुरा सुनेपछि माङ्हाङ्ले आफ्ना सबै जनतालाई उधैली/उभौली चाडकारूपमा मानि तागेरा निङ्वाफुमाङ्को पूजा आरधना गर्ने आदेश दिए । त्यसै समयदेखि चासोक ताङनाम र याक्वा माङघ प्रकृति र पितृ पूजाका रूपमा सालना पूजिन थालिएको हो ।

ख. याक्खा मिथक
मरेर गएका आफु भन्दा अगाडिका पूर्खाका आत्माहरुले सधैं आफ्ना सन्ततीलाई रक्षा गरिरहने बिस्वासमा आधारित याक्खा मिथकमा पनि जिवित सन्तानहरुले प्रकृति पछाडि श्रद्घापूर्बक पूज्नु पर्ने शक्तिका रुपमा पूर्खाका आत्मालाई नै लिइएको पाइन्छ । माटोमा उम्रिने सबै प्रकारका अन्नबालीहरु आदिम पूर्खाहरुकै आत्मिक शक्तिका माध्यम प्राप्त भएको हुँदा नयाँ पाकेका अन्न चाख्ने अधिकार सर्वप्रथम उनै पूर्खा आत्माहरुको हुन्छ । पूर्खा आत्माहरुको अपहेलना गर्नु भनेको आफैलाई कष्ट निम्ताउनु हो भन्ने मान्यता अनुसार नयाँ पाकेको पाङदुरको चोखो जाँड तथा पाकेका अन्य अन्नहरुका साथमा हुमुसा (पोलेको मासु), थुक्मुसा (पकाएको मासु) जस्ता बिविध परिकार बनाएर आदिम पूर्खाहरुदेखि लिएर तुवा, तोङमा (मरेर गएका पितापूर्खा) सबैलाई मुन्धुमि बिधिद्वारा आरधना गरेर तर्पण गरे पश्चात मात्र ती नयाँ अन्नबाली शुद्घ हुने र यस्ता शुद्घ अन्नको बिजनले मात्र आगामी बालीहरु पनि सप्रने बिस्वासमा उधौली/उभौली पुजा गरिने परम्पर रहेको उल्लेख पाइन्छ ।

ग. राई मिथक
सुरूसुरूमा किरातीहरू केवल शिकार खेलेर जीवन यापन गर्दथे । कुनै समय शिकार नपाउँदा जङ्गलका कन्दमुल खाएर पनि जिविका चलाउन थालियो । एकदिन हेप्छाकुप्पाले शिकार गरेर ल्याएको शब्दकुईया तुकतुकुर्मा (ढुकुर)को गाँडबाट विभिन्न नयाँनौला अन्नका बीउहरू निस्के । जिज्ञासावस हेप्छाकुप्पाले ती वीउ विजनलाई यसै भुइँमा छरिदियो । केही समयपछि हेछाकुप्पाले त्यही अन्नका वीउहरूबाट बिरूवा उम्रेको देखेर अरू उत्साहित बन्दै ती बिरूवाहरूलाई स्याहार्न थाल्यो र उम्रेको नयाँ अन्न पारूहाङ तथा पितृलाई चढाएर केही प्रसादको रूपमा चाख्दा पेटको भोक मेटेर सन्तुष्टि मिल्ने ठानी अन्नबाली लगाउने परम्परा रह्यो । यसरी अन्नबाली लगाउदा एकपटक र अन्नबाली भित्राउँदा एकपटक उभौली/उधौली मनाउँदा ठाउँअनुसार परम्परागत भेषमा नछुङ वा टोकाया, कछरीपाहरूद्वारा पहिले चुला पुजेर साकेला थानमा गै मुन्धुम अनुसार भुमि, नाग, नागिनीहरको पुजाअर्चना गर्दै बालिनाली सप्रियोस, राम्ररी फल लागोस बर्षा समयमा होस भनि कामना गरिन थालियो । साकेलाथानमा पुजा गरि त्यहाँ नछुङ, टोकायाहरुले साकेवालुङ्ग (अन्नपानीको सह मानिएको ढुङ्गा) निकाल्छन् र त्यसलाई पुजागरी फेरी त्यसै स्थानमा गाडेर राखिन्छ र अर्को साकेलामा फेरी खनेर निकाली पुजा गरिन्छ तर हरेक समयमा यिनीहरु एकै आकार र संख्यामा रहेको भने पाईदैन कुनै साल बढ्ने र कुनै साल घट्ने गर्दछ । यसरी साकेवालुङ्ग बढेकोलाई शुभ संकेत अर्थात बाली सप्रिने, गाउघरमा सुख सान्ति हुने बिश्वास गरिन्छ भने साकेवालुङ्गको आकार, संख्या घटेमा अशुभ हुने अन्नबालीको नाश, दैविक प्रकोप, रोग ब्याधि लाग्ने संकेत मानिन्छ ।

साकेला सम्बन्धी एउटा किम्बदन्ति यसप्रकार रहेको छ । मानव उत्पतिको आदिम युगमा पारुहाङ्ग र सुम्निमाको ईच्छा अनुसार मानिसहरु फैलाउने क्रममा प्रथम मानव मानिएको किरातइङ्वाले नागराजाकी छोरी सिक्रीमासँग बिवाह गरेछ । नाग राजारानीले छोरी ज्वाईलाई जीवनपयोगी अर्ति उपदेश दिएर पृथ्वीलोकमा घरजम गरि बस्नु र जीवनयापनको लागि खेतिपाती गर्नु, अन्नबाली लगाउने र उठाउने समयमा हाम्रो सम्झना गरि बर्षको दुई पटक उभौली र उधोलीमा ढोल, झ्याम्टा बजाएर हाम्रो सम्झना गर्नु भनि एउटा ढोल, एकजोडि झ्याम्टा दाईजो आशिर्वाद स्वरुप दिएर दिएछन् । यहि संस्कारलाई निरन्तता दिने क्रममा हेप्छाकुप्पा र उनको चेलीहरु तायामा खियामाले पनि कायम राखेको भन्ने पुर्खाको तर्क रहेको छ । यसरी आदिम किरातकाल देखि प्रचलनमा मनाउदै आएको यो चाड अनन्त आजको आधुनिकयुगमा पनि उतिकै लोकप्रिय छ । मिथक फरक हुन सक्छ, तर समग्रमा यो चाड पुर्खाहरुको सम्झनामा, अन्नबाली सप्रियोस भन्नको खातिर सारा मानवजातीको कल्याण होस भन्ने कामना सहित भुमिलाई पुजेर मानिने चलन रहदै आएको छ ।

घ. कोइँच मिथक
कोइँच मुक्दुम अनुसार उहिले एकासगोलका किरातहरु आफ्नो बसाइसराईको क्रममा शिमाङगढा भन्ने स्थानमा बसेको बेला इष्टदेवदेवी अनिलासिरि तथा पार्मोसिरिको आराधना गर्न ढोल बजाएर नाचगान गर्न थाले । यस नाचगानबाट खुसी भई पार्मोसिरि (प्रकृति)ले सहको प्रतिक होमाचिरी (सुनढुकुर) उपहार दिइन् । यही होमाचिरीले किरातहरुलाई अन्नबाली लगाउन सिकायो र जता जता किरातहरु जान्थे होमाचिरिलाई पनि साथै लाने गर्दथे । पछि बनेपाबाट भाइ छुट्टिने बखत होमाचिरी कसले लाने भन्ने कुरामा झगडा प¥यो । यसरी झगडा परेको देखेर सहको प्रतिक होमाचिरि उडेर बेपत्ता भयो । उही होमाचिरीको खोजीमा हिँडदाहिँडदै बाँकि अरु भाइहरु पनि छुट्टिन पुगे र आ–आफ्नो थाँतथलोमा परम्परा अनुसार बाली लगाउने बेला र अन्नबाली भित्राउने बेला किरात चाड उभौली उधौली मनाए । कोइँचहरूले भने लिकु, खिमकु, ङाकु, मोलुङ वरीपरी आफ्नो इष्टदेवी पार्मोसिरि र पूर्खाको पूजा आराधनाको रूपमा सालिवा शाँदर (उभौली) र रापवा शाँदर (उधौली)का रुपमा सालिन्दा दुई पटक शाँदार पिदार गर्न थाले ।

३.ऋतुका आधारमा उधौली उभौली

प्राचिनकालमा किरातीहरुका लागि प्रकृति नै पात्रो भएको पुष्टि हुन आउछ । प्रकृतिमा फुल्ने फूल, रुख, लहरामा फल्ने फल र चरा, माछाहरुका बसाइसराईका आधारमा मौसम र यामको बिभाजन गरेर उपयुक्त याममा उपयुक्त किसिमले प्रकृतिको वा पित्री/पूर्खाहरुको पुजा आराधना गर्ने प्रचलनको बिकास गरिएको पाइन्छ । किरातीहरु बनस्पति जगतका खास खास फूल फूल्ने यामका माध्यम खास खास अन्नबाली लगाउनु पर्ने संकेत बुज्दथे । स्थान विषेश फुल्ने गुराँस, आरु, सिरीष, टोटला, चिउरी, चाँप, चिमाल अदि फूल फुल्ने समय अनुकूल खेतीको याम सुरु भएको मानेर हाल चलनचल्तिको पात्रो अनुसार फाल्गुन महिनादेखि भदौसम्मको मध्य अवधि बैशाक पूर्णिमा देखि पञ्चमी सम्म पाँचदेखि सात दिनसम्म उभौली पर्वको प्रचलन चलाएको पाइन्छ । यस्तै जब जब चराहरु लेकबाट बेसितिर लाग्छन, खोलाका माछाहरु उत्तरबाट दक्षिणतिर झर्न थाल्छन एवं पैयुँ वा पैयुँ प्रजातिका फूलहरु फुल्न थाल्छन तव आफुले लगाएको अन्नबाली भित्राउने याम ठानेर मंसिर पूर्णिमामा चोखो अन्नबाली प्रकृति तथा पूर्खाहरुलाई चढाउने क्रममा उभौली पर्वको प्रचलन चलाएको पाइन्छ ।

उभौली/उधौली पर्वका अतिरिक्त पूर्खाहरुले कन्दमुल खाएर जीविका गरेको स्मृतिमा कन्दमुलमात्र खाएर मनाइने पर्वकारुपमा हाल चलनचल्ति पात्रो अनुसार माधेसक्रान्तिमा आजपनि किरातीहरु काँचो बनतरुलको टिका लगाउदै सबेरै काँचो बनतरुल चपाएपछि मात्र अन्य उसिनेका वा भुटेर तारेका कन्दमुल भोजनका रुपमा ग्रहण गर्ने गर्दछन् । भीरमौरी काढ्ने उभौली र उधौली यामको मह सेवन गर्ने रिति, साउन भदौ विच पर्ने गेडागुडीमात्र आहार गर्ने क्वाँटि पूर्णिमाको याम, उत्तरको शीतकालिन जाडो छल्न कर्‍याङकुरुङ दक्षिण लाग्दा इन्द्रेणी पुज्दै काक्रा फर्सि रोप्ने याम, अम्लिसो फुल्दा चुला तथा मूलथाम पुज्ने याम आदि पर्वहरुले यही पुष्टि गर्दछ कि किरातहरुले हाल चलनचल्तिको पात्रो अवलम्बन गर्न अगाडी प्रकृतिमा उम्रने बनस्पति जगतका बोटविरुवाका फुल्ने फल्ने यामका आधारमा आवश्यक ऋतु निर्धरण गरि निर्धारित ऋतु याम अनुसारका संस्कार संस्कृति अवलम्वन गर्ने गर्दथे जस्को ज्वलन्त उधारण हो उभौली/उधौली पर्व ।

४.भाषिक आधारमा उधौली/उभौली

अधिकांश किरातीहरुले उधौली/उभौलीलाई आफ्नो मातृभाषाको सम्बोधन बिर्सेर भूमे पूजाका रुपमा लिएको भएता पनि केही किरात समुदायमा भने उधौली/ उभौलीको आफ्नै भाषामा छुट्टै नामबाट सम्बोधन गरिएको पाइन्छ । किरात याक्खा भाषामा उधौलीलाई चासुवा भनिएको पाइन्छ । याक्खा भाषामा “चो” को अर्थ खा र “ऊवा” को अर्थ झोल भन्ने हुन्छ । यसैले चासुवा शव्दको चो+ऊवा= चोउवा अर्थाथ झोल तथा चोखो खानेकुरा पूर्खाहरुलाई चढाएर मात्र नयाँ अन्नबाली खाने मान्यता अनुसार नै अपभ्रंशित रुप चासुवा भनिएको अनुमान गर्न सकिन्छ । लिम्बु भाषामा चासोकको शाब्दिक अर्थ खाद्य, चासोःक् थिसोःक् भन्नाले जाँडपानी तथा खानेकुरा हुदै चासोःक् थिसोःक् फिन्देम्मे भन्नाले अन्न तथा जाँडपानी चढाउ भन्ने हुन्छ । यसरी नै कोइँच किरात भाषामा सम्बोधन गरिने शाँदार शब्दलाई अर्थाउन आदार र पिदार दुई शव्दलाई पनि जोडेर बुझनुपर्ने हुन्छ । आदार=कामना गर्नु र पिदार=चढाउनु भन्ने हुन्छ । अर्थाथ कुनै पनि चोखो खाने पिउने कुरा चढाएर कामना गरिने कार्यलाई समग्रमा शाँदार भनिएको पाइन्छ । यीनै बिविध भाषिक तथ्यलाई आधार मान्दा, अन्य किरात समुदायमा पित्री तथा प्रकृति पुजालाई गरिने सम्बोधन साकेला, साकेन्वा, साकेवा, तोशी, बाश, भूमे जस्ता शव्दहरुले पनि यस्तै शाब्दिक अर्थ बोकेको हुनसक्ने संभावनालाई नकार्न सकिन्न ।

५.संस्कार अनेक सस्कृति एक

सम्पूर्ण किरातीहरुले उधौली/उभौली पर्वको पूजा एउटै समय एकैदिन पूज्नु, कोइँचले सालिवा शाँदार र रापवा शाँदार भनेझैं लिम्बूले याक्वा माङ्घ र चासोक ताङ्नाम, याक्खाले चासुवा, बान्तावले साकेवा, चामलिङले साकेला, थुलुङले तोषी, कोयुले साकेला, खालिङले वास आदि भनिनु, सहकाल, सौम्य प्रकृति तथा वातावरण सन्तुलन एवम् सु–स्वास्थ्यको कामना गरिनु, अधिकांस किरात समुदायले यो पूजा गर्दा ढोल झ्याम्टा बादनको प्रयोग गरिनु, ढोल नाचमा चरा, दुम्सी जस्ता पशुपंक्षीको स्वभावको अनुकरण गरिनु, सबै किरात समुदायमा यो पूजामा प्रकृति र पितृ दुवैलाई पूजिनु, हेत्छाकुप्पा शब्दकुइँया, तुक्तुकुरमा र होमाचिरीको मिथकीय सन्दर्भ मिल्नु; कुलपुजारीलाई कोइँच भाषामा नाअसो, बाहिङले नोक्सो, चामलिङले तोकाया÷नछुङ्ग, थुलुङले नोक्चो, कुलुङले नाक्च्छो, बम्वुलेले नाक्सो, जेरोले नाक्सु, हायुले नाक्सो, तथा जिरेल नाक्सुम र सुरेलले नाक्सो अदि भनिनु तथा मुन्धुमी/मग्दुमी व्यक्तिलाई ग्याँमि, पोइँबो, फोम्बो, फेदङवा, बोन्बो आदि भनिनु जस्ता सान्र्दभिक सन्दर्भहरूले प्राचीन किरात संस्कृति एउटै भएको प्रमाणित गर्दछ ।

भाषिक आधारमा परिकल्पना गरिएको महाकिरात जहाँ बोलिने भाषा टिबेटी बर्मन (कामरुपीय, क्वीन्जिक, कचिनिय, लोलो–बर्मेली, युन्नान, करेनिय आदि) भाषा बोलिने भूभाग अन्तरगत हिमालयज उपशाखाको पनि एक प्रशाखाकारुपमा रहेको किरात भाषा अन्तरगत पश्चिमी केन्द्रिय तथा पूर्विय भाषा बोलिने बृहत किरात (जो नेपालभित्र पर्दछ) लाई वल्लो, माझ र पल्लो किरातका रुपमा बिभाजन गरिएको पाइन्छ । मल्लकालिन ऐतिहासिक कालखण्डदेखिकै अस्तित्वमा आएको किरात क्षेत्र साँगा भञ्ज्याङदेखि दुधकोशी सम्म वल्लोकिरात, दुधकोशीदेखि अरुणसम्म माझकिरात र अरुणदेखि मेचीसम्म पल्लोकिरातका समुच्चा किरातहरुलाई संस्कार संस्कृतिको आधारमा एउटै सुत्रमा बाधने पर्वः हो उधौली/उभौली जस्लाई मिति २०५८ साल चैत्र २६ गतेदेखि तत्कालिन सरकारले किरात चाड उधौलीका रुपमा मंसिर पूर्णिमालाई समेत मान्यता दिएर राजपत्र मार्फत सार्वजनिक बिदाको घोषणा गरेको थियो । देशमा शान्ति, सुशासन, सहकाल तथा सुखसमृद्घिको कामना गर्दै भरखरै सम्पन्न गरिएको उभौली पर्व पनि आ–आफ्नै संस्कार परम्परा अनुसार देशभरका किरातीहरुले हालसालै भव्यरुपले मनाएर आफ्नो संस्कार संस्कृतिलाई निरन्तरता दिएका छन् । केवल स्वदेशमा मात्र नभै बिदेश बेलायत, अमेरिका, हङकङ, दक्षिण कोरिया, कतार, सिक्किममा रहेका किरातीहरुले पनि यो उत्सव भव्यताका साथ मनाउने गरेका छन् ।

सन्दर्भ श्रोत

– इमानसिंह चेम्जोङ, किरात मुन्धुम (किरात बेद) तेश्रो संस्करण, प्रकाशकः किरात याक्थुङ चुम्लुङ केन्द्रिय कार्यालय, ललितपुर, २०५९
– ईश्वर किरण सुनुवार (अतीत मुखिया), पारम्परागत कोइँच कानून, प्रकाशकः दालमान अक्षय कोष, २०६५
– ईश्वर किरण सुनुवार (अतीत मुखिया), कोइँच महान चाड शाँदर पिदार एक अदेखा मुक्दुमि सत्य, प्रकाशकः चुप्लु समाज, २०६७
– किरात चाडः चासुवा, शाँदर, चासोक ताङ्नाम र उधौली साकेला एक परिचय, किरात याक्थुङ चुम्लुङ, जनबकालत कार्यक्रमका लागि यम. यस. नेपालको सहयोगमा प्रकाशित
– प्रविण पुमा, हेन्खामा–निनाम्मा किराती मिथक संग्रह, इ.स.१९९७
– निराजन बतास, खोक्चिलिपा, ओल्लो,माझ र पल्लो किरातका किराती मिथक संगालो, प्रकाशकः किरातविज्ञान अध्ययन संस्थान २०६७
– लिम्बु–नेपाली–अङ्गे्रजी शव्दकोश, नेपाल प्रज्ञा–प्रतिष्ठान,२०६७
– लाल–श्याँकारेलु रापचा समेत, इन्डो–नेपाल किराँती भाषाहरु, बिगत, समकालीन परिवेश र भोलिका चुनौतीहरु, प्रकाशकः किरात विज्ञान अध्ययन संस्था, २०६५
– कोइँचबु काःअ्तिच (उत्तम) , बाअशो दाइशो थामा लोः प्रकाशक चुप्लु समाज, २०६५

१. किरात चाडः चासुवा, शाँदर, चासोक ताङनाम, र उधौली साकेला एक परिचय, पृष्टभूमि पृष्ट ४
२. ईश्वर किरण सुनुवार (अतीत मुखिया), कोइँच महान चाड शाँदर पिदार एक अदेखा मुक्दुमि सत्य पृ.१२१
३. (स्व. दुर्गाहाङ याक्खा राईको भनाईका आधारमा )
४. ईश्वर किरण सुनुवार (अतीत मुखिया), कोइँच महान चाड शाँदर पिदार एक अदेखा मुक्दुमि सत्य पृ.१२२
५. ईश्वर किरण सुनुवार (अतीत मुखिया), कोइँच महान चाड शाँदर पिदार एक अदेखा मुक्दुमि सत्य पृ.१२२–१२४
६. किरात चाडः चासुवा, शाँदर, चासोक ताङनाम, र उधौली साकेला एक परिचय, पृष्टभूमि पृष्ट ६ लिम्बु–नेपाली–अङ्ग्रेजी शव्दकोष पृष्ट १२८

आधुनिकताको चेपुवा र राज्यले एकल भाषा, धर्म, संस्कृति लाद्ने क्रममा कतिपय किरातहरुले आफ्नो स्वपहिचान लुकाउन बाध्य हुनु–ले, लोपोन्मुख हुँदै गैरहेको मुन्धुमी संस्कृतीलाई उत्खनन गर्दै जर्गेना गर्ने महान कार्यमा समस्त भूमी सन्तानहरुले आफूलाई समर्पण गर्नु आजको आवश्यकता हो । किरातीहरुको विविधता भित्र एकताको बलियो जग हाल्न सकिएमा मात्र पितृ/प्रकृति समस्त किराती भूमी सन्तानहरुको दाहिना हुनेछन् । त्यसैले कुनै जाती/जातित्व, धर्म/संस्कृतिलाई खलल नपुग्ने गरि पितृ/प्रकृति पूजक समस्त किराती भूमी सन्तानहरुले मुन्धुमी संस्कृति किराती समुदायमा सर्वब्यापी बनाउँदै लैजान सक्नु नै सहि पितृ/प्रकृति पूजा उभौली/उधौली साकेला साकेला/शाँदार पिदार हुने छ ।

धन्यवाद/चुरेदुम ।

अतीत मुखिया
फूलबारी टोल, कोटेश्वर

This entry was posted in संस्कार - संस्कृति परिचय and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.