~डा. रुपक श्रेष्ठ~
फगत आज फेरि
एउटा सचेत कलमले
निस्सार हारेको छ
अन्यायको विरुद्ध लड्दालड्दै
अत्याचारको विरुद्ध भिड्दाभिड्दै
आलो इतिहासको धब्बासामु
निर्मम घुँडा टेकेको छ
बिसंगत आज फेरि
एउटा कलम विवश ढलेको छ ।
स्वतन्त्राको सेनानीजस्तो
न्यायको तराजुजस्तो
निर्भिक कलम त्यो
किंकर्तब्यबिमुढ
लाचार गलेको छ
कलम सँगसँगै आज
थुप्रै आस्था जलेको छ
थुप्रै विश्वास ढलेको छ
त्यही आस्थाको खरानीमा
फेरि चेतनाको आगो बल्ला/नबल्ला
त्यो आगोले उस्तै न्यानो देला/नदेला
त्यो आगोले उस्तै उज्यालो ल्याउला/नल्याउला
त्यही खरानीबाट त्यो चेतना
फेरि फिनिक्सझैं उड्ला/नउड्ला
अन्धकार विरुद्ध लड्नु पर्ने
अन्याय विरुद्ध खबरदारी गर्नु पर्ने
अनायास आज फेरि
एउटा मशाल निभेको छ ।
आगोलाई सब समान हुनुपर्थ्यो
पानीलाई सब समान हुनुपर्थ्यो
मसिलाई सब समान हुनुपर्थ्यो
फगत आज फेरि
हजारौँ निसाफ लेख्नु पर्ने
मसि पोखिएको छ
एउटा सहिदको रगतझैं
हजारौं रक्तबीज उमार्नु पर्ने
त्यो पोखिएको मसि
फेरि साहसिलो आवाज भै उठ्ला/नउठ्ला
दुसाशन र कुशासनलाई
थरथरी हल्लाउनु पर्ने
एउटा गर्बिलो आवाज ढलेको छ
अनपेक्षित आज फेरि
अपत्यारिलो घटना घटेको छ
हो हजुर
आज अक्षरको श्मसान बनेको छ
झक्झक्याउँदा झक्झक्याउँदै
अनायास आज फेरि
एउटा कलमको अवसान भएको छ ।
(स्रोत : सत्यतथ्य मासिकको फेब्रुअरी २०१४ – अंक ५, वर्ष २)