कथा : रुची

~कल्पना किरण~kalpana-kiran_jeevan-adhikari

“ साधना रे त्यो नानीको नाम ”, बुवाले स्काईपमा भन्नुभयो | मैले फेसबुकको सर्चबारमा साधना टाइप गर्दा दुई-दर्जन साधनाहरु भेटिए | घरमा मेरालागि खोजेका केटिहरु मध्यकी सबैकुरा मिल्ने, असल, र राम्री केटि हुन् रे, साधना | समान सामाजिक र आर्थिक धरातल मिलेकाले बाउ-आमालाई पनि सारै राम्रो लागेछ | “ होइन के थर हो केटिको, साधना त धेरै देखायो त फेसबुकले ”, म कुर्लिए | बा-आमा एकछिन गनगन गरिसके पछी, “ केटि चाही अर्याल हुन्, उनीहरुको मामाली चाही खनाल हुन् “ | साधना अर्याल भनेर सर्च गरेपछि जम्मा ३ जना देखायो | मैले फोटो जूम गरेर सबभन्दा राम्री चाही, बुवालाई देखाए | “ हो येही हो केटि, मैले अस्ति पारीको साइलोसंग गएर येसो बाहिरबाट हेरेर आएको ”, बुवाले केटि हेर्न गएको कहानी सुनाउनु भयो | फेसबुकमा मैले फ्रेन्ड रिक्व्यस्ट पठाउन नमिल्ने रहेछ | “ बुवा यी नानीको बाबालाई भनेर फेसबुकमा एड गर्न भन्नु न त ”, मैले धेरै नै कर गरे |

२-४ दिन पछी फेरी घरमा स्काईप भयो | “ बुवा केटिका बाऊसंग कुरा गर्नु भयो त ”, मैले उत्सुकताका साथ सोधे | “ कुरा त भयो, तर केटिका बाउले अलि आना-कानी गरे, लाउरे बूढा हुन्, हाम्रा छोरीहरु, कहाँ नचिनेको केटासंग कुरा गर्दै हिड्छन भने, मैले अरु कुरा गरे, कुराकानी पोजेटिभ छ | अब तँ आए पछी कुरा अगाडी बढ्छ |” बुबाले जवाफ दिनुभयो | रूम-ल्याब-रूमको जीवन चल्दै गर्दा, एकदिन अचानक साधना अर्यालको नामबाट फ्रेन्ड रिक्व्यस्ट आयो | केहि क्षण पछी म्यासेज रिक्व्यस्ट पनि आयो | “ मलाई चिन्नु भयो होला नि”, मिठो स्माइलीका साथ उनको म्यासेज आयो | “ हजुरको बुवाले त कहाँ एड गर्छन नचिनेको केटालाइ भन्नु भएको थियो रे त ”, मैले जवाफ फर्काए | “ हजुर हजुर नभन्नु न प्लिज, म हजुर भन्छु हजुर चाही तिमी भन्नु न है | बुवा त कडा मान्छे नै हो तर, बैनी र म भएर फकाएको, अब बिहे गर्ने सित राम्रोसंग कुरा गर्नु कहाँ पाप हो, कुरा गर्दैमा केहि बिग्रिने पनि होइन भनेको, मान्नु भयो ”, उनले स्पस्ट परिन | “ कस्तो राम्रो नाम रहेछ हजुरको रामेश्वर”, उनले अझै मलाई मक्ख पर्ने कोसिस गरिन | “ धन्यवाद मलाई मक्ख पार्दिएकोमा, अलि अलि गतिलो तेही नाम त रहेछ, थोपडामा त भगवानले धोका दिईहाले ”, मैले नरम भएर भने | एक-पछी अर्को फोटो हेर्दै लाइक गर्दै गए | “ होइन अनुहार नै सबै कुरा होइन नि त, अनि हजुर ले कति धेरै फोटो लाइक गरेको के एकै लटमा, त्यो पनि पहिलो दिन मै ”, उनले कडा लवजमा भनिन | “कति राम्री तिमी, त्येही माथि लाइक गरेको पैसा पनि लाग्दैन ”, पहिले च्याटमा आफ्नो मारवाडी स्वभाव देखाउदै जवाफ दिए |

हामी दुबैको घरमा कुरा हुन थालेको थाहा थियो | त्यसले हामीहरुलाई कुरा गर्न पनि निकै सजिलै भयो | बिस्तारै लामा-लामा कुराहरु हुन थाले | मैले एक-अर्कालाई क्षणिक प्रभाव पर्न भन्दा वास्तविक रुपमा प्रस्तुत हुन आग्रह गरे | “ सबै कुरा जाने र बुझेर भएको माया नै दिर्घकालिन हुन्छ ”, उनलाई सम्झाउदै मैले भने | “ ह्या किन आत्तिनु भएको हो, म तेती कुरा नबुझ्ने पनि छैन के ”, ठुस्किदै उनले जवाफ फर्काईन | साच्चै सार्है राम्री थिइन् साधना, मिलेको शरीर, उज्यालो मुहार, मिलेको दात, पोटिलो वक्ष, टम्म मिलेको कम्मर र निताबं | कुनै मोडेलमा भन्दा कमि थिएन उनको सौन्दर्यतामा | “ तिमी कति सारै राम्री हो के ”, मैले जिस्काउदै भने | “ त्यो त मलाई नि थाहा छ, हजुरले भन्ने पर्दैन ”, चोटिलो उत्तर पो आयो | भर्खर बि.बि.एस सकेकी उनको हरेक कुरा हेरर लट्ठ हुन थाले |

“ तिम्रो मन पर्ने कुरा के हो ”, मैले सोधे | “ कस्तो मन पर्ने कुरा भन्नु भएको”, उनले प्रति-प्रश्न गरिन | “ मेरो मतलब तिम्रो प्यासन, हबी के हो भन्न खोजेको ”, मैले प्रस्ट पार्न खोजे | “खै के हो के , मलाई नै थाहा छैन | कहिले के कहिले के चेन्ज भैरहन्छ | तर डान्स गर्न चाही मन पर्छ अनि सिरियल हेर्न ” , हास्दै जवाफ आयो | हुनत नेपालमा के को प्यासन के को हबी | मध्यम बर्गीय सबै नेपालीको प्यासन नै पढ्ने होला | पढ्यो त केहि गर्यो नत्र मरु | म पनि अहिलेको ठाउँमा नभएको भए कहाँ साधनासंग बोल्न पाउथे होला र | मनमनै कुरा खेल्दै थियो | एक वर्ष कुरेर मेरो नाम रामपुरमा बि.एस.सी ए.जी पढ्नमा निस्केको थियो | ११-१२ गतिलोसंग नपढे पनि मैले रामपुरमा राम्रै पढेको थिए | रामपुरको अन्तिम बर्षमा राम्रो रिसर्च गरेकाले नै मेरो एडमिसन लुजियाना स्टेट युनिभर्सिटीमा भएको थियो | बाउले बेलामा राम्रो स्कूल पढाएकाले GRE र TOEFL मा खासै गार्हो पनि भएन | पढ्ने र अलि-अलि कविता-गजल लेख्ने भन्दा ठुलो कला त ममा केहि थिएन | न अंग्रेजी गीत सुन्न आयो न त्यो गितार बजाउन नै | तेही हो मेरो छाती चाही अहिले पनि गितार जस्तै छ | “हजुरको प्यासन के हो तनी, सुनम नत हामी पनि “, उनको पनि सोधिन | “ तिमीसंग कुरा गर्ने, तिम्रो फोटो लाइक गर्ने, तिमीसंग बोल्ने ”, हास्दै भने | “ह्या फेरी नजिस्किनुन, मैले रियल कुरा सोधेको के ”, उनको रिसको पारो नाकको टुप्पोमा पुगेको भान हुन्थ्यो | “ रिसर्च गर्ने, पढ्ने, पपेर छाप्ने आदि ”, मन नलागी-नलागी उत्तर दिए | “के हो यो पपेर छाप्ने भनेको”, नबुझेर सोधिन | आफुले गरेको कामको बारेमा लेखेर पब्लिश गर्ने हो | उनले बुझेको जस्तो गरिन | अनि कति ओटा निकाल्नु भयो तनि भनेर सोध्दा मेरो जवाफ चाही सुन्य नै थियो | “भर्खर त रिसर्च सुरु हुदै छ, के पब्लिश गर्न सक्नु “, मैले आफ्नो ब्याथा सुनाए |

दुबैको घरमा कुरा प्रस्ट भएकाले हाम्रो दुरी दिनानुदिन घट्दै थियो | हाम्रो कुरा हुन थालेको पनि २-३ महिना भएसकेको थियो | बल्ल उनको घरमा एडीएसएल इन्टरनेट आयो | कुरा धेरै हुदै जादा आजकल शरारती, छाडा कुरा नि हुन खोज्थे तर उनले कुराको लिमिट क्रस हुन चाही दिन्थिनन | “ हजुरले अहिले सम्म कति ओटा गलफ्रेन्ड बनाउनु भयो”, अनायासै एती ठूलो प्रश्न पो गरिन | “ खै कति हो कति, मलाई नै थाहा छैन, एउटा नि बनेको छैन हो ”, मैले अनकनाउदै जवाफ दिए | “होइन हौ लज्जाउनु पर्दैन, म हजुरका गलफ्रेन्डहरु भएकोमा हजुरलाइ जज पनि गर्दिन के”, उनले जिद्दी कसिन | “खै हेर आफुले मन पराइयो, उनीहरुले मन पराएनन्, कोइ-कोइले मन पराए पनि मैले मन पराइन, तेही हो अलि सोझालाई टेरिएन, बाठाले के मलाई टेर्थेर ”, मैले गुनासो पोखे | “रामपुरमा त सबैको लव पर्छ रे त, मेरो मामको छोरी नि तेही पढ्नु भएको हो ”, उनको फेरि अर्को सवाल आयो | “ हेर रामपुरमा केटिहरुको हो लव पर्ने, धेरै केटा चाही म जस्तै भुक्का हुन् | त्यही पनि हामी जस्तो आम आदमीको लागि रामपुरमा केटि पाउनु गार्हो छ हो “, लामो सास लिदै जवाफ दिए | “बिचारा हजुरको जीवन त सुक्खा नै पो रैछ त ”, उनले सटायर मारिन, दिल नै घोज्ने गरेर | “अमेरिमा मा कोइ गोरीहरु त छैन नि “, शंका मान्दै सोधिन | “ म तिम्रो लागि अहिले सम्म कुरेर बसेको नि लाटी | यहाँ गोरिले हामी कालेलाई भाउ पनि दिन्नन | उता रामपुरमा पनि गतिला भमराले त फूल फेरी-फेरी चुस्ने गर्थे नि | तिनीहरुको लाइफ चाही अलि रसिलो होला | तेही भएर रामपुरका फूलमाथि खासै मन जादैन मेरो, चुसेको फूललाइ किन धेरै कष्ट गर्नु र “, मैले उनलाई मक्ख बनाउन खोजे | कुरा नबुझेको झैँ गरेर उनले कुरा अन्तै मोडिन |

कुरा हुन थालेको ४-५ महिना पछी मात्रै हाम्रो स्काईपमा कुरा हुने भयो | पहिलोपल्ट टेबलमा ल्यापटप राखेर भिडियोमा कुरा गर्दा, उनको सुन्दर अनुहार र पुस्ट वक्ष राम्ररी देखिन्थ्यो | आँखा कहिले तल त कहिले माथि हुदै थिए | कता-कता हेरु कता-कता नहेरु केहि भेउ पाउन सकिन मैले | केटि चाही सारै राम्रो र हट परेकोमा भित्र-भित्रै मक्ख थिए | १२-१३ घण्टाको समय फरकले हामीलाई गफ गर्नलाई गार्हो बनाएको थियो | म कामुक हुन लागेको बेला नेपालमा बिहान हुने, उही रसिक हुने बेलामा मलाई ल्याब जानु पर्ने | तैपनि भाइबरका कुनै आइकोन बाकी रहेन, आदानप्रदानको लागि |

हाम्रो बिहे हुने लगभग पक्का भैसकेको थियो | मैले उनको अरु कुरा पनि खासै सोधिन, सधै मायाकै कुरा मात्रै हुन्थे | कोरियन एअरलाइन्सको सस्तो-सस्तो टिकेट काटेर असारको पहिलो हप्ता म घर जाने भए | हामी एक-अर्कालाइ भेट्नमा आतुर थियौ | “पहिलो भेटमा मलाई किस दिने कि नदिने”, मैले लाजनै नमानी सोधे | “ ममा फिलिंग ल्याउन सक्नु भयो भए पाउनु हुन्छ नत्र त पईदैन ”, उत्तर आइहाल्यो | “कसरी आउछ त फिलिंग” मैले नजानेको झैँ गरेर सोधे | हजुर केटा हो केटा ले आफै जान्ने भन्दै फोन काटिन | एमेजनबाट उनका लागि भनेर दुइटा प्रीस्टाट हार्ट अस्सोर्टमेंट चकलेट किनेर अर्कै झोलामा राखें |

भाइले उसको युनिकर्न २-४ दिनलाइ भनेर मलाई नै दियो | पोखराको जिरो किलोमिटरमा भेट्ने र कतै घुम्न जाने प्लान भयो हाम्रो | झोलामा दुइ पोका प्रीस्टाट हार्ट अस्सोर्टमेंट हालेर हिडे पहिलो डेटिङका लागि | सेतो टप्समा, टाइट जिन्समा सारै राम्री भनेर रोडको छेउमा छाता ओडी बसेकी साधनालाई देखे | “ये सानु म एता” हेल्मेट निक्लादै मैले भने | “ भो भो हेल्मेट ननिकाल्नु, अरुले देख्छन फेरी ”, भन्दै बाइकको पछाडी बासिन | तर बिचमा झोला राखेर | “हैट के बिदी राम्री भएर आएको त ”, मैले हेल्मेट भित्रबाटै भने | “हजुरलाई लठ्ठ पार्दिउ भनेर नि”, करारा जवाफले भित्र भित्रै मक्ख परे | बिचमा झोला भए पनि, ब्रेक-अक्सिलेटर-ब्रेक को फण्डा थाहा त थियो | तैपनि आफ्नै हो ढिलो-चाडो भनेर मनले केहि गर्न मानेन | पहिलो भेटमा सिधै बन्द होटेल भित्र जाउ भन्न इज्जतले दिएन, नर्मल रेस्टुरेन्टमा जान मन पनि थिएन | लेकसाइडको राम्रो ठाउँमा गइयो, जहाँ राम्रै प्राइभेसी मिल्थ्यो | “ डलरको माया गरेर केहि खानु हुन्न कि के हो”, कुर्चीमा बसेपछि उनले सोधिन | मैले किन र भने | “ आफूलाई हेर्नुस त, खाने बेलामा डोकाले थुनेको जस्तो पो छ त ज्यान ”, हास्दै भनिन | “ खै घिचेकोले किचेको रे , आमाले भन्या ”, मैले जवाफ दिए | “ जे होस् ह्यान्डसम नै हुनुहुन्छ टेन्सन नलिनु”, म रिसाएको बुझेर मलाई रिझाउने कोसिस गरिन | “ तिमी टेन्सन नलिउ, बिस्तारै बुझ्छौ मेरो पावर ”, मैले उनलाइ अर्को सवाल गर्ने ठाउँनै दिईन | उनलाई प्रीस्टाट हार्ट अस्सोर्टमेंट दिए, थ्यांक यू भन्दै ब्यागमा राखिन | हातहरु खेलिरहे, बदनहरु नजिकिए, ओठहरु जोडिन थाले | “ बाबा अब त भयो के, अब पछी हस”, उनले अर्ध-उत्तेजित लवजमा अनुरोध गरिन | बिस्तारै हामी छुट्टिनु पर्ने भो | गार्हो मानी-मानी आफ्नो-आफ्नो घर फर्कियौ |

५ दिनको अन्तरालमा हाम्रो बिहे हुने भो | बिहे र इन्गेजमेन्ट एकै दिन हुने तय भयो | बाबाले सबै खर्च गर्नु भो | मैले किनेको भनेको २-४ बतल, हार्ड-ड्रिंक्स मात्रै हो | ७-८ लाखको सानुलाई गहना किन्दैमा गयो, बुवाको ढुकुटीको १५-१६ लाख चाही सकियो | सन्देशले प्रि-सुहागरातको ट्रेनिंग पनि दियो, बेलुकापख आएर, कवज पनि दियो | बैनिहरुले सजाएर राखेको बेडमा हामी दुइ मात्रै थियौ | “सानु आउन आज के विचार छ तिम्रो”, मैले नसालु अवाजमा सोधे | “ मलाई धेरै थकाइ लागेको छ बेबी” , मायालु स्वरमा उत्तर आयो | मेरो अंगालो आएर सुतौ भनेर सोधिन | पहिलो-रात स्त्री-आलिंगन र पहिलो लामो चुम्मनले चित्त बुझाए | “आजलाई येती नै के सुत्नु न ”, उनको कोमल आवाजलाइ नकार्न सकिन | दुई-चार दिनमा धेरै माया-प्रेमहरु सटिए | पछिका प्रेमगमनहरुमा उनलाई पिडा हुन पनि छाडिसकेको थियो | सुरुसुरुका उनका पिडामा भने म रमाई रहे |

म आएको ३० दिनमा फर्किने प्रोग्राम थियो | उनको पनि भिसाको प्रोसेस्सिंग सुरु गरे | ३ महिना पछी उनि पनि अमेरिका आइन | सस्तो घर खोजेर राखिसकेको थिए | सुरुको दिनहरूमा ल्याब जानै मन-नलाग्ने भयो | ५-६ बजे नै ल्याब छोडेर आउथे, उनले खान बनाएर राख्थिन, संगै खान खायो, माया साट्यो, सुखमय हुदै थियो मेरो जीवन, टम्म मोटाउन पनि लागे | अनि मैले गजल लेखेर सुनाउथे,

बाहिर कुरा लुकाएनी भित्र प्रेम् गर्छिन् डल्लु
हाम्रो आखाँ छलेर हाम्रै बागमा चर्छिन् डल्लु

एति धेरै प्यारहरु लुकाई-लुकाई राखे पनि
हाम्रा लागि ठाउँ दिन आफै कुना सर्छिन् डल्लु

उनले पनि सुन्थिन, तर खासै मज्जा मानेको या बुझेको जस्तो चाही लाग्दैनथ्यो | मलाई लाग्थ्यो मेरो गजलमा दम कम भयो कि भेनर, फेरी अर्को सुनाउथे,

भित्र तान बाहिर फ्याल फेरिरहने सास हुन्छु
हरेक सेकेन्ड नटासिएनी तिम्रा लागि खास हुन्छु

हावामा फैलिएका झुटो बसनाका रागहरु छन्
रगत लिएर परिक्षण गर स्वच्छतामा पास हुन्छु

तर मैले उनीहलाई जति नै कस्ट गरे पनि मेरो गजलले सन्तुष्ट बनाउन सकेको थिइन | मैले रिसर्चका कुराहरु गर्थे, उनले खासै बुझ्थिनन पनि र बुझ्ने कोसिस पनि देखाऊ-थिनन, देखाउनु पनि कसरी, उनको मेजर कमर्स थियो | घरमा सधै काम नगरी बस्दा उनि बोर हुन्थिन, मैले एकदिन के गर्छेउ भनेर सोधे | उनी डान्स गर्नमा मन गर्ने भएर मैले उनलाई, नजिकैको डान्सक्लासमा जोइन गराईदिए | मलाई खासै मन पर्ने कुरा त होइन डान्स, तै पनि उनको अनुरोध मैले पुरा गरिदिए | नेपालबाट डी-भि परेर आएका अंकलका छोरा, प्रदिपले दिने रैछन यो ठाउमा धेरैलाई नेपाली-इन्डियन डान्स ट्रेनिंग |

साधनाको डान्स चल्दै गर्दा मलाई दिउसो एक्लोपन महसुस हुन्थ्यो | येहि क्रममा फेरी सुष्मासंग कुरा धेरै हुन थाल्यो | सुष्मा, मेरो ११-१२ पढ्दा देखि कै साथी हुन् | पातलो ज्यान, स्पस्ट बोलि, मान्छे जस्तो भए पनि उनीमा जति मिजास अरुमा खासै देखेको छैन | धेरै केटिहरुसंग कुरा भए, धेरै आए धेरै गए, तर उनीचाही किन सधै साथी नै रही रहिन | न धेरै टाढाकी न धेरै नजिक कि | उनले पुल्चोकमा इन्गीनीरिंग सुरु गरिन, जुन साल मैले ए.जी सुरु गरेको थिए | तेती बेला देखि नै निरन्तन कुरा हुने साथी हुन् उनि | रामपुरको राजनीतिको कुरा बुझ्ने मध्ये थिइन् सुस्मा | एक प्रकारको बासनासहित आदर्शबादी प्रेम थियो, हाम्रो | मेरो हरेक गजल-कविता खुसि भएर पढ़थिन, लेख्न सिकाउथिन | मेरो बिहे पूर्व र बिहे पछी पनि निरन्तर कुरा चाही हुन्थ्यो | मेरो प्यासन र रिसर्च बुझ्ने चाही उनिनै थिइन् | मेरो एउटा जर्नल पब्लिस हुदा, उनको खुसि मलाई मेरो साधनाको खुसि भन्दा धेरै भएको भान हुन्थ्यो | हाम्रो कुरा हुने, पुरै प्लेटोनिक भएर होला, साधनालाई खासै मतलब र तनाब थिएन | मैले बिहे गर्न लाग्दा पानि ह्यापी म्यरिड लाइफ भन्दा अरु केहि भनिनन | तेही हो, दिनभर साधनाको डान्स क्लास हुदा, मैले सुष्मासंग अलिक धेरै कुरा गर्न थाले | अर्को कुरा साधनका डान्सका कुरामा नत खासै मतलब थियो नत धेरै इच्छा नै | मैले उनको डान्स बुझ्नै खोजेको थिइन | सुष्माको पनि अहिले सम्म कोहि केटा साथी चाही थिएन क्यारे | त्यहि भएर उनलाई पनि कुरा गर्न गार्हो लाग्दैनथ्यो |

बिहेपछी मेरो बोल्ने लवज अलिक परिवर्तन भैसकेको थियो | मेरो कुरामा धेरै सैतानी र बदमासी भैसकेको थियो, सुष्मासंग जे को नि कुरा हुन थालेको थियो | उनीमा पनि नर्थ क्यारोलिनाको हावा लगिसकको थियो | बोल्दैमा के नै जाने हो र भन्थिन | साधनाको डान्स क्लास ६-७ महिना भैसकेको थियो, एकदिन मलाई उनको डान्स हेर्न जान कर गरिन | उनको करलाई नाई नभनी, उनको डान्स हेर्न गए | गुरु प्रदीपसंगको दुएट डान्स देखेर सारै राम्रो लग्यो, तर आफ्नो श्रीमतीलाइ पर-पुरुषले नचाएको हेर्न चाही गार्हो भयो | साधनापनि आजकल खाली प्रदीपकै बयान गर्छिन | झ्याउ लागे पनि खासै केहि प्रतिशोध देखाऊदिनथे | हिजोआज समभोग पनि दाल-भात जस्तै भैसकेको थियो | खासै नौलो नभए पनि खान चाही पर्ने सधै जस्तो | त्यो पहिलेको जस्तो बासना-कर्शण चाही थिएन |

मलाई प्रदीपसंग नाचेको कत्ति पनि मन परेको थिएन, तर मेरो प्रतिष्ठाले ननाच भन्न चाही सकेन | “ बाबा आज के गर्दै हुनुहुन्छ”, साधनाले सोधिन | “ तिमीसंग डान्स, मेरो अरु के काम छ र”, मैले टर्रो जवाफ दिए | “ ल्याब जाने रिसर्च गर्ने, अरु के हुन्छ र ?”, मैले थपे | “ बाबा आजमा प्रदीपसंग त्यो शाहरुखको मुवी हेर्न जाम, हजुरलाई हिन्दी खासै मन पर्दैन के रे”, उनले सारै अप्ठेरो प्रश्न गरिन | मैले जाऊ भने | कहिलेकहिँ घरमा खान खान पनि आउथ्यो, प्रदीप | मैले मेरो साथीहरुलाई खासै बोलौदीनथे, उनलाई दुख हुन्छ भनेर, तर प्रदीप चाही आइरहन्थ्यो | बाउको डी.भिले अमेरिका आएको प्रदीपसंग छ प्याक बढी र डान्स बाहेक अरु कला-गुण चाही केहि थिएन | तेही कला मेरो साधनापनि राम्रो डान्स र सेक्सी ज्यान | मेरो ज्यान र मेरो ज्ञान बुझ्ने भनेको सुष्मानै हुन् भन्ने महसुस हुदै थियो मलाई |

“हिजो-आज तिम्रो याद धेरै आउछ”, सुष्मालाइ गुनासो गर्दै थिए | “तिमी कति बोका भाको, घरमा बुडी भएसी त, अलि कन्ट्रोल हुनु पर्ने नि आफ्नो भावनामा”, उनले गालि गरिन | “ त्यो त हो हेर, तर कुरा बुझ्ने तिमी छौ, म के गरम त नि, आजकल साधनाको शरीरमा तिम्रो दिल र दिमाग भएको आवास गर्छु म, तर जब बोल्छिन अनि तिमी होइनौ भन्ने महसुस हुन्छ, त्यो उनको कामुक बदनमा मात्रै म आकर्सित हुन सकेको छैन”, म भाबुक हुदै भने | “ हेर तिमी विवाहित हो, त्यसैले धेरै कुरा नगर, मन-मनमा जे गर्ने हो गर तर तेही हो म तिम्रो बिहेको बेखुसिको कारण बन्न चाहन्न”, सुष्माले सम्झाउने कोसिस गरिन |

मलाई सुष्माको अशृंगारिकतामा नै प्रेम हुदै थियो | साधनाको ओठहरुबाट मैले सुष्मालाइ चुमेको महसुस हुन्थ्यो | उता साधना डान्समै मस्त थिइन्, उनले मलाई बुझ्ने कोसिस गरिनन् र मैले भनिन पनि | नेपाली नयाँ वर्षमा सास्कृतिक कार्यक्रम हुन लागेको थियो | “बाबा हजुर र म नाचम न”, साधनाले सोधिन मसंग | “हाहाहा, अब तेही बाकि छ, मेरो ज्यानले नाच्ने तिमी माथि मात्रै हो त्यो पनि बत्ति निभेसी ”, मैले उत्ताउलो जवाफ दिए | “ बाबा तेसो भए म प्रदीपसंग नाचम है त ”, मेरो आज्ञाको आसा गरिन | मैले हुन्छ भने | उनले राम्रो नाचिन, प्रदीपले पनि राम्रो नाच्यो, तर त्यो कपल डान्सले धेरै तनाब दियो मेरो मगजमा | धेरै हिन्दि फिल्मका सिनहरु सम्झिन बाध्य बनायो |

राति मलाई साधनासंग अंगालीन मन लागेन, त्यो अँधेरोमा पनि कुनै उत्तेजना भएन | मन तेसै शिथिल थियो, अर्को-पल्टी फर्केर सुत्ने कोसिस गरे, तर सुत्न सकिन, मलाई निन्द्रा परेन | साधना घुर्न थालिसकेकी थिइन् | मनमा धेरै कुरा खेल्यो, मैले साधनाको तनको मायाले बिहे गरेको महसुस भयो, मेरो मन अहिले पनि सुष्मासंगै छ जस्तो लग्यो | आज साधनालाई सुष्मा सम्झेर चुम्न पनि सकिन | बिस्तारै सुष्माको यादमा निदाएछु |

बिहान उठ्दा साधना बाथरूम गैसकेकी रैछिन | मैले आज सबै कुरा खुलस्त गर्ने निर्णय मन-मनै लिईसकेको थिए | मलाई मेरो रिसर्च र यो सम्बन्धको तनाबले उठिबास बनाउन लागेको थियो | “बाबा आजमा हजुरलाई एउटा कुरा भन्नु छ”, बाथरूमबाट कुद्दै आएर साधनाले भनिन | “बेबी आज म पनि तिम्लाई ठूलो कुरा भन्नु छ”, मैले पनि थपे | “नाइँ नाइँ लेडिज फस्ट”, उनले जिद्दी गरिन | “बाबा आज मैले यू.पी.टि गरेको पोजेटिभ आयो, मेरो मिन्स नभएको आज एक महिना २० दिन भयो | म प्रेग्नेंट छु बाबा !!!”, खुसि हावामा उफ्रिदै भनिन | “हो र बेबी हामीलाई बधाई छ, आइ एम सो ह्यापी”, मैले लामो सास लिदै भने | “अब हजुरको कुरा के हो भन्नुस बाबा”, मलाई मेरो कुरा भन्न कर गरिन | “ आइ लव यू बेबी, आइ लब यू सो मच, अब तिमी प्रेग्नेंट छौ, नो मोरे डान्स ”, मैले मायाले भने | हस बाबा भनेर मेरो ओठमा चुमेर चिया पकाउन किचन तिर लागिन |

कल्पना किरण(India)
मार्च-१२ २०१६

(यो कथा काल्पनिक हो, कसैको जीवनसंग मिल्न गएमा संयोग मात्रै हुनेछ | यो कथामा लेखेका कुरा मेरो वक्तिगत विचार होइन |)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.