~मिलनकान्छा किराती~
समयको थुप्रै रङ्ग उडेपछि
एउटा युग आउँछ !
अँध्यारो लखेट्दै झिल्को झरेपछि
प्रभातमा लाली छाउँछ !
युगौंदेखि घाम–जून ओढेर
थुपै–थुप्रै्रै ज्ञात–अज्ञातको
प्राण–पखेरु उडेपछि
तिमी जन्मिएको हौं !
शासन–व्यवस्थाको बिर्को खोल्दा
ह्वास्सै सामन्त गन्हाउछ !
त्यसैले हो कि,
इतिहासमा धेरैचोटी
पूर्खाहरु लडेको देखिन्छ
अब, आर्थिक अवस्था फेर्नुछ
अहो ! साँच्चै तिम्रै काँधमा–त्यो
सबैको आशा अडेको देखिन्छ !
तिमीले,
चाउरिएको बुढो युगलाई जिस्काउँने छैनौ
कसैलाई सहीदको कोटा भराउँने छैनौ
अनि,
राहदानी थमाएर सपनाको देशतिर
आफैलाई बेच्न बाध्य गराउँने छैनौ
किन कि,
विश्व–भूगोल विकास–प्रविधिको
प्रत्येक सेकेण्ड–सेकेण्ड प्रतिस्पर्धा गर्छ !
अब,
सडक किनारमा होइन योद्धाहरु
मेशिनमा जन्मन्छ र मेशिनमै मर्छ !
त्यहाँ, मेड इन नेपाल लेखिएको हुन्छ ।
टङ्–ठडङऽऽ ! टङ्–ठडङऽऽऽ !
मेशिनका आवाजभित्रबाट
प्रवासी माटोमा तर्तरी पसिना पुछ्दै
हृदयको प्रत्येक धड्कनमा
ढुकढुकीले रहस्य खोल्छ
मुटु भित्रभित्रै गाउँबेशी, छहरा–छाङ्गाले
निष्कपट बोल्छ
संविधान !
तिमी समृद्धिको नमुना बन्नू !
मलाई आफ्नो बाँझो माटो
आफ्नै पसिनाले पोत्न दिनू
खेतका गह्रा–आली,
कान्ला र घुरेनहरुमा
मेरा एकहल खुशीका
सपनाहरु जोत्न दिनू !
संविधान !
तिमी समृद्धिको नमुना बन्नू !
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )