~कृष्ण अधिकारी “चिन्तित”~
आत्मीय काजल
तिमी शान्तिप्रिय हुँदा हुँदै पनि
शान्तिको सास फेर्न पाइनौ
उन्नती र विकास हेर्न पाइनौ
अशान्तिको भूमरीमा बाँच्न बाध्य छ्यौ,
फूल ठानेर काँढा समाउँदा पनि घोचेनरे
विश्वासघातीलाई पनि पराई सोचेनरे
तिम्रो मन कति स्वच्छ र निश्पक्ष छ
तिम्रो स्वच्छताको र निश्पक्षताको
घोर अवमूल्यन भइरहेको छ यहाँ
तिमीलाई कादाम्बिनीले चिनिनरे हो ?
कति स्वार्थी छ मान्छेको मन
उसले सकुन्तला र शशिकलालाई पनि चिन्दिन कि ?
हुम्लाकी डिकुरीदेवी कानको सुन बेच्न बाध्य छिन्
डोल्पाकी माकुरीदेवी शरीरको खुन बेच्न बाध्य छिन्
तिमीसँग पनि जे छ त्यही बेच काजल,
यहाँ कोही केही दिन आउने वाला छैनन्
धुर्तहरु भए लिन आउने न हुन
तिमीले इमान जमान, रगत पसिना सबै दियौ
तिमीसंग आंशु बाहेक के नै बाँकी छ र
तिम्रो आँशुलाइ साथ दिन कोही अघी सर्दैनन्
निर्दयीहरुसंग दया हुंदैन नि काजल,
पाखन्डीहरुको पाखन्ड ध्वस्त पार्न
हरेक टालमा फुलनदेवी जन्मनु पर्छ
वादले अतिवाद जन्माउँछ भने
साथले अन्तरघात जन्माउंछ भने
कति दिनसम्म चुपचाप सही रहने ?
जब उठ्नु पर्छ लाटो रिस
विश्वासघातीहरुलाई तह लगाउन
बाढी बनेर उर्लनु पर्छ लाटो रिस
बाठाहरुको दुईचक्रबाट मुक्त हुन
आँधी बनेर उर्लनु पर्छ लाटो रिस
आँखाबाट निरीह आँसु हैन काजल
बगाउनु पर्छ तेजापको घनघोर बर्षा
लाटो सधैं पछाडि भइरहनु पर्ने
बाटो सधैं अगाडि गइरहनु पर्ने
यो झेलपूर्ण खेलको विरोधमा
लाटाहरुलाई आसन बनाएर
शासन गर्ने बाठाहरुको प्रतिरोधमा
जुर्मुराएर जाग्नु पर्छ लाटो रिस
तिमी हिम्मत लिएर लक्ष्यमा अघि बढ
समय तिम्रो पक्षमा हुनेछ काजल ।
– भरतपुर–७, चितवन
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ३२ – २०६८ आषाढ २२ गते, बुधबार )