~रामेश्वर राउत ‘मातृदास’~
गुन गर्यो बैगुन हुन्छ के युग हो यो कस्तो ?
अमृतको वृक्षभरि विषै फक्रेजस्तो ।
आउने हरेक अबगाल र अपजसलाई थिची
कर्म गर्नैपर्छ उत्सव बैगुन किचिमिची ।
अन्धकारले जस्तो देखोस् घाम निस्तेज हुन्न
काँढा माझ फुल्ने फूल कहिल्यै पीर रुन्न ।
के गुन गर्नु भूल हो त भुइँ झरेको पत्कर ?
गुन गर्दा बैगुन फले कुदाउँनु छ बख्तर
डराएर हराउँदैन कराएर पीर
कर्म उन्नत कदमले नै उठाउँदछ शिर ।
गुन गर्यो बैगुन …
– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती
(स्रोत : मधुपर्क २०६७ चैत)