~त्रिभुवनचन्द्र वाग्ले~
आमाले दूधले पखालि दिनुभएको गालामा
माया गर्ने पश्चिमे संस्कृतिमा तिमीले जुठो चुहायौ
मैले घिनमान्न पाइन, त्यो आतुरतामा
आमाले मलाई जन्मदिनको शुभकामनामा ढ्याब मार्दा पिठ्युँमा
सेतो सर्टमा दाग लाग्यो
धुँदा सर्ट तिमीले दागा ध-यौ–
“कसले मैलायो सर्ट”
म चुपचाप गोर्कीको आमा उपन्यास पढ्दैछु ।
कसले मलाई जन्मदिनको शुभकामना लेख्न कष्ट ग-यो ?
देखेन उसले आमाको वेदना
जुन दिन म जन्मेको थिएँ आमालाई रुवाउँदै
मैले आमा–हाँसोको मूल्य सोधिन त्यो दिन
माल्थसले आमाको हाँसोको मूल्य निर्धारण गरेनन्
र त मैले पढिँन, तिमीले पढिनौ
कामना गरौं–हाम्रा सन्तानले मूल्य निर्धारणका सिद्धान्त नपढून्
ता कि तिमी र मलाई बजारमा किनून् उनीहरूले
मातातीर्थका लड्डु जसरी असनमा, इन्द्रचोकमा ।
पूर्व सहयात्री हुनुको नातामा
मलाई पटक्कै पश्चात्ताप छैन
कि, मैले तिमीलाई आमा बन्ने कष्टमा होमिन
हुन सक्छ, म उन्मत्त तर निर्जीव भैरव हुँ,
जस्तो कि मलाई थाहा छ–
छोरा बुहारी डिनर जाँदा टमीले चुह्लै निमन्त्रणा पाएको
टमीले खाएको चिकन पिसलाई
फेन्सेडिल बनाउने फार्मासिस्ट म कहाँ हुँ तिम्रा लागि !
यही घर हो जहाँ, तिमीले खोक्दा झर्को लाग्छ
टमीले भुक्दा न्यास्रो हट्छ ।
हामीले मायाको थेगोमा दोहोरी गाएर के भो र ?
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )