~श्यामल~
धेरै कुराहरू छुट्छन् प्रस्थानबिन्दुमै
हतारमा यात्रा गर्दा
अँध्यारोमा देख्ने उज्यालो र्टच र दाह्री फाल्ने
पत्ती
दाँत माझने मन्जन र ब्रुस, सामान राख्ने झोला
महत्वपूर्ण सम्पर्कविन्दुहरू
पढ्न थालेको
तर अधुरै रहेको नयाँ किताब
जे पनि छुट्न सक्छन्
हतारमा यात्रा गर्दा
नभई नहुने सारा कुरा
यतै छाडेर गएछन्
साथीहरूले।
हतारमा यात्रा गर्दा
छुट्छ पत्नीलाई
म्वाईँ खान
निधारमा शुभमूहुर्तको
रातो टीका लगाएर
बाआमाको आशीष लिन
चाँडै र्फकने वाचा गर्दै छोराछोरीलाई हात
हल्लाएर बिदा हुन
जँघारमा टेक्ने लौरो
आफ्नो परिचयपत्र
र
जगेडा कपडा,
एक्लै पर्दा
खल्तीबाट निकालेर हेर्न फोटो
र
भर्खरै लिपिएको
दैलाको मधुरो गन्ध
पानी खाने भाँडो
चिसो छल्ने पछ्यौरा,
पुग्नुपर्ने
ठाउँको नाम
सबैसबै बिर्सेर गएछन् साथीहरूले ।
हतारमा हिँडेपछि
साथमा हुने त दुःखहरू नै हुन्
यात्राको रोमाञ्च
हिँड्नुअघि नै छाडेर
गएपछि
यात्रा कहीँ गएर पनि विश्राम गर्न लायक हुँदैन
हिउँ, हिमनदी,
भीरपाखा, छहरा,
नृत्यरत
मानिसहरूको हूल
यात्रामा केही पनि
हेर्न लायक हुँदैन
र
पर्ख भन्दाभन्दै
हतारमा हिँड्दा
गन्तव्य कहाँ भन्ने
कुरै बिर्सेर
साथीहरूले
यात्राको कला नै
मूल घरको खोपामा भूलेर
गएछन्
साथीहरूले
हतारमा,
हतारहतारमा
आफ्ना खुट्टा दैलोभित्रै छाडेर गएछन्
मेरा साथीहरूले ।
हराए हराएजस्ता,
खुट्टा नभएका,
हात नभएका,
आँखामा दृष्टि नभएका
बाटैमा अलपत्र परेका अर्द्धजीवहरू
अहो तिनीहरू
त्यति पर पुगे कसरी !
जब कि तिनीहरूले
घरै छाडेर गएका छन् यावत
सरसामल
ती ती समय हुनेछन्
अति कष्टमय समय
जब खोज्दा
कतै पनि साथमा
देखिन्नन् वस्तुहरू
विचार, दृष्टि,
विवेक र स्मृति
सारा कुरा छाडेर
गएपछि
फर्केर आउने हो कसरी –
हतारमा यात्रा गर्दा
यात्रामा निस्कनै भुलेछन् साथीहरूले ।