~एनबी इलुंगा~
सधैँ झैं रातको ११ः३० बजे म अफिसबाट निस्किएर घरतर्फ लागेँ । बाटामा आउँदै गर्दा थाहा पाएँ, मेरो ड्राइभरले पिएको रहेछ । गाडी रोक्न लगाएर झपारेँ अनि आँफै ड्राइभ सुरु गरेँ । दिनभरको दौडधुपले गलेर लखतरान भएको शरीर फेरि गाडी कुदाउनु पर्दा कठीन लाग्दै थियो । म अली बढी नै सुविधाभोगी भएछु । ससानो काम गर्न पनि अल्छी लाग्छ । बाटामा एउटी महिला पत्रकारको फोन आयो । उनको स्वर सँधैभन्दा फरक लाग्यो । एउटी युवतीलाई ट्रकले कुचलेर भागेको खवर उनी भन्दैनिइन् । उक्त युवतीले आत्महत्या गर्ने मनशायले कुदिरहेको ट्रकमुनि फाल हालेको पनि उनले सुनाइन् । आजको इडिटिङ सकियो, भोलि बिहान फ्याक्स गर्नु भनेर मैले सम्पर्क काटिदिएँ । फेरि गाडी अगाडि बढाएँ । ३० कि.मि. यात्रा के टुङ्गिएको थियो, आधा बाटोमा म अचम्मको दुर्घटनामा परेँ । मेरो गाडीमुनि अघि मोबायलले भनेजस्तै एउटी युवतीले फाल हाली । मैले आत्तिएर गाडी रोकेँ । हत्तार हत्तार तल हेरेँ । गाडीमुनि कोहि थिएन । वरिपरि हेरेँ कसैलाई देखिनँ । ड्राइभर त गाडीभित्रै मस्त निदाएछ । एकछिन पछि थाहा पाएँ । म एउटा खोलाको पुलमाथि रहेछु । मेरो ड्राइभर सँधै भन्थ्यो । यो खोलाको पुलमा मृत आत्माले तर्साउँछ रे । ऊ पनि सँधै सतर्क हुन्थ्यो । त्यहाँ कुनै घटना भएजस्तो लाग्दा पनि ऊ वास्ता नगरी गाडी चलाउँथ्यो । शायद भुतले तर्साएछ क्यारे । मलाई डर लाग्यो । हत्तपत्त भित्र पसेँ । गाडी स्टार्ट गरेर तुफान भगाएँ । घर आइपुग्दासम्म मेरो शरीर थर्रर काँपिरहेको थियो ।
ड्राइभरले ब्युँझने चेष्टा गरेन । उसलाई गाडीभित्रै थुनिदिएँ । आफ्नो घरपनि आज अनौठो लाग्यो । ढोकाबाट छिर्दै जाँदा कोहि अत्यन्त आत्मिय अतिथि आएझैं भान हुँदै थियो । तर त्यस्तो हुँदा उनले पहिल्यै मलाई खबर गर्थिन् । शायद उनी किचन मै थिइन् । मेरो लागि खाना तयार गर्दै । म सरासर बेडरुमतिर लागेँ । सँधैभन्दा अधिक थकान महशुस गर्दै थिएँ म । तुरुन्तै आँखा चिम्लिन मन लाग्यो । आँखा चिम्लिसकेपछि थाहा पाएँ । मैले कपडा र जुत्ता समेत खोलेनछु । बत्तीको उज्यालो छेकिएजस्तो लाग्यो । उनी आइछन् क्यार । उनले मेरा जुत्ता उतारिदिइन् । तर मेरो शरीरको कपडा उनले कत्तिखेर खालेर थन्क्याउन भ्याइन् मैले थाहा पाइनँ । म अफिसबाट फर्केर सरासर बेडरुममा पस्नुको कारण उनी एउटै बुझ्छिन् । प्रायः पिएर आएको दिन म त्यसो गर्छु । आजपनि उनले त्यही सोचिन् । तर मैले केहि भनिनँ । उनलाई मेरो स्वास्थ्यको खुब चिन्ता छ । नशामा हुँदा मौसमको ख्याल हुँदैन । मेरो शरीरलाई न्यानो परिराख्न आवश्यक सम्पूर्ण कार्यहरु उनले प्रायः फत्ते गरिन् । यति धेरै माया गर्ने पत्नी पाउनु मेरो अहोभाग्य हो । तर विवाहको २ बर्ष बितिसक्दा पनि उनलाई मैले सम्पूर्ण खुसी दिन सकेको छैन । उनले गरेको यति बिघ्न सेवाको प्रतिफल मैले आधारभुत आवश्यकताभन्दा बढी केहि कुरा गरिदिन सकेको छैन । उनका व्यक्तिगत इच्छाहरुलाई मैले खासै महत्व दिएको छैन । कहिलेकाहीँ त हिनताबोध हुन्छ । श्रीमान् श्रीमतीको एकार्काप्रतिको व्यवहार समतुल्य हुनुपर्ने हो । उनी सबै कर्तव्य पूरा गर्छिन् । म त्यो सबै भोगिरहन्छु । उनी अझै कोठामा फर्किनन् । अघि नै गएकी सायद केहि थान्को मुन्को बाँकी होला । मलाई पनि आज निद्रा आउन लागेन केवल आँखा चिम्लिएर पल्टिनु परेको छ ।
उनी कोठाभित्र पसेको मैले थाहा पाएँ । उनले ढोका बन्द गरिन् । ड्राइभर गाडीमै थुनिएको कुरा उनलाई थाहै छैन क्यारे । बाहिरका सबै बत्तीहरु बन्द भइसकेका छन् । उनी मेरो छेउमा आइन् । म निदाएको उनले बुझिन् । बेड सुट पहिरिएर बत्ती निभाइन् । अनि मेरो छेउमा पल्टिइन् । उनी कोल्टे परेर सुतेको मैले थाहा पाएँ । उनले आफ्नो बायाँ हात मेरो छातीमाथि राखिन् । उनको शीर मेरो बायाँ काँधमाथि थियो । उनले श्वास फाल्दा न्यानो हावा मेरो छातीमा पथ्र्यो । सुकोमल हातको न्यानो स्पर्श र परेली केशको संशर्गले पनि आज मलाई उत्तेजित गरेनन् । उनको शरीरको अग्र भागले मेरो शरीरलाई तलदेखि माथिसम्म छोएको थियो । म यति थकित थिएँ कि मलाई चल्मलाउन सम्म पनि मन थिएन । तर यस्तो मेरो जीवनमा पहिलो पटक भएको थियो । आश्चर्यचकित मनको खोल मस्त खाटमा पल्टिरहेकै बखत् मेरी प्यारी पुर्व प्रेमिका मेरो स्मृतिमा आइन् । उनले मसँग कुनैपनि हालतमा विवाह नगर्ने निर्णय मलाई सुनाएकै दिन मैले अरुनै कुनै तरुनीसँग विवाह गर्ने निश्चित गरिसकेको थिएँ । त्यो आज सार्थक पनि भयो । तर उनको इन्कार स्वभाविक थिएन । मसँग विवाह गर्न नचाहनुको कारण उनले मलाई किन भनिनन् ? मलाई पहिलो प्रेमको अनुभव प्रदान गर्ने उनले धेरै रातहरु मेरो काखमा समर्पण गरेकी थिइन् । मेरो हत्केलाको स्पर्श उनको निधारबाट तलतिर सार्दै गर्दा उनी पूर्णतया शिथिल हुन्थिन् । मसँग कहिल्यै नजर नजुधाउने उनले मेरो आदेश कहिल्यै इन्कार पनि गरेकी थिइनन् । मैले अरु कुनै स्त्रीसँग जीवन बिताउने कल्पनासम्म गरेको थिइनँ । मेरो विवाह कै रात उनले फोन गरेर आफु आजीवन अविवाहित बस्ने खुसीको खबर सुनाइन् । तर मलाई उक्त कुरामा विश्वास लागेन । उनमा अधिक नसा थियो । उनी कामुक थिइन् । र पारिवारिक जीवनकी सौखिन पनि । उनीसँगका भलाकुसारीमा म ती आशयहरु स्पष्ट बुझ्थेँ । उनलाई मैले राम्ररी बुझेको ठान्थेँ । तर, उनले मलाई गलत ठह¥याइन् । म बल्ल विश्वास गर्न बाध्य भएँ कि प्रभु येशुलाई समेत वहाँका प्यारा चेलाले तीनपटक सम्म इन्कार गरेका थिए । तर पनि वहाँले आफ्ना चेलालाई पहिले झैं प्रेम गरिरहनुभयो । मैले पनि माया मारेको त होइन । तर साथ टुटाएँ । त्यसले उनलाई मर्माहत पारेको हुनुपर्छ ।
पहिले पहिले त उनको धेरै याद आउँथ्यो । उनले धेरै पटक आत्महत्याको प्रयास गरेको सुन्थेँ । धेरै दुःख लाग्थ्यो । उनलाई भेट्न प्रयास नगरेको पनि होइन । तर उनी नै मेरो यादसँग टाढिन चाहन्थिन् । जुन असम्भव थियो । एउटै कारणले पटक पटक भावविह्वल हुने शायद उनको आदत बनिसकेको थियो । आफ्नो इच्छा पूरा गर्न नपाउँदा जसको पनि मन दुख्छ । तर त्यही वहानामा अति नीचता देखाउनु नहुने हो । शायद उनी मसँग बदला लिन खोज्दै थिइन्, मैले गरेजस्तै व्यवहार देखाएर । जुन असम्भव भयो । जसरी मैले उनको हृदयमा चोट बनाइदिएँ, त्यसरी नै मलाई पनि उनले तड्पाउन चाहन्थिन् । त्यो पनि सम्भव थिएन । त्यसैले उनी मृत्यु रोज्न लागिन् । एउटी युवतीले ट्रकमुनि फाल हालेर आत्महत्या गरेको खबर सुनेपछि मलाई अलि शंका लाग्यो । कतै उनी नै त होइन ? म भित्रैबाट चिसिएँ । ढुकढुकी बढ्न थाल्यो । म निदाउन के लागेको थिएँ, फेरी झसङ्ग भएँ । कोठाबाहिर बत्ती बलेजस्तै लाग्यो । ड्राइभर ब्युँझिएर आएछ भन्ठानेँ । स्वीच बारम्बार अन अफ गरेको आवाज सुन्दै थिएँ । अझै ट्रिपमै रहेछ क्यारे । बाहिर यता उती दगुरेको पनि आवाज सुनेँ । एकछिन पछि गाडी स्टार्ट गरेको आवाज पनि आयो । अरे !!! चाबी त मैले नै ल्याएको थिएँ । शायद ऊसँग अर्को चाबी थियो । तर ऊ बाहिरतिर जान सक्दैन । गेट बन्द छ । म ढुक्क भएँ । गाडीको आवाज बन्द भयो । तुरुन्तै हाम्रो कोठाको ढोकामा ढकढक आवाज सुनियो । कत्ति छिटो माथि चढेछ । अचम्म !!! आज यसले अत्ति गर्ला जस्तो छ । सक्थेँ भने २ झापड हानेर आउथेँ । ड्राइभरको तमासा सिद्धएछ । फेरी उनै मेरी प्यारी प्रेमिकाको बारेमा खुल्दुली मच्चियो । उनको मायालु साथ केवल विगतको मीठो स्मृतिमात्र बन्यो । त्यो वास्तविक जीवन थियो जस्तो पनि लाग्न छोडिसक्यो । यदि उनले आत्महत्या नै गरेकी हुन् भने त्यो मेरो कारणले हुनुपर्छ । मलाई त्यसको ठुलो भार लाग्नेछ । सीसा फुटेजस्तो झर्र्याम्म आवाजले मेरो सोचाइमा अवरोध पु¥यायो । ड्राइभरसँग फेरि रिस उठ्यो । ढोकामा मज्जाले ठटाएको आवाज आयो । बाहिरका धेरै बत्ती र फेनका स्वीचहरु अन भए । फेनहरु चल्न थाले । सबैतिर उज्यालो पनि भयोहोला । तैपनि म कुम्भकर्ण झैं लडिरहेँ । अचानक ढोकाबाट चुइंइंय आवाज आयो । ढोका खुलेको मैले थाहा पाएँ । बाहिरको उज्यालो कोठाभित्र पस्यो । यो त असम्भव घटना भयो । मैले बाटोमा आउँदाको घटना सम्झिएँ । पत्रकारले फोनमा भनेको घटनाको याद आयो । म एकदमै डराएँ । भित्रैबाट कम्पन आउन लाग्यो । म के गरुँ गरुँ भएँ । डरले थरर्रर्र काँप्न थालेँ । त्यसै थाकेको शरीर हलचल नगरी पल्टिरहेँ । मेरी प्यारी धर्मपत्नी मेरो छातीलाई न्यानो पार्ने काममा व्यस्त थिइन् । उनलाई अवरोध गर्न चाहिनँ । यो ड्राइभरकै कर्तुत भए उसलाई भोलीपल्टै निकालिदिने थिएँ ।
तल्लो तलाबाट माथितिर ड्याङ् ड्याङ् आवाज आउन थाल्यो । म पूरा आतिएँ । श्वास बढ्न थाल्यो । फेरी भ¥याङबाट कोही हत्तारमा कुदेर माथि चढेझैं आवाज आयो । ठीक मेरो कोठा बाहिर एउटी महिला जोडले चिच्याएको आवाज सुनें । अब मेरो सातो पुत्लो उड्यो । म आत्म समर्पणको स्थितिमा पुगेँ । इश्वरको सम्झना गर्नु बाहेक मेरो अर्को विकल्प थिएन । मनमनै भगवानको नाम सुमिरन गर्न लागेँ । बाहिरको बत्तीको उज्यालोले मेरा बन्द आँखा पनि तिरमिराए झैं भए । एकै छिनमा त्यो प्रकाशलाई कालो छायाँले छेक्यो । पूरै कोठा अन्धकार भएजस्तो लाग्यो । त्यो कालो छायाँ सर्दै सर्दै म तिर आएजस्तो भान हुँदै थियो । फेरी त्यो छायाँ मेरो अगाडिबाट हट्यो । त्यहि प्रकाश पुनः मेरो आँखामा प¥यो । शायद त्यसले मेरो अनुहारको आकृति नियाल्न खोज्दै थियो । म लामो लामो श्वास लिँदै थिएँ । त्यो कालो छायाँ मेरो अगाडिबाट फुत्त मेरी श्रीमतीको शरीरमाथि फाल हाल्यो । उनी मलाई छोडेर अर्कोपट्टि पल्टिइन् । मलाई चिच्याउन मन लाग्यो । तर सकिनँ । आँखा खोल्न, चल्मलाउन, केहि गर्न सकिनँ । त्यतीबेला म मरेतुल्य भइसकेको थिएँ । अचानक मेरी प्यारी जुरुक्क उठीन् र बत्ती बालिन् । उनी उठ्दा ढोका बन्द भइसकेको रहेछ । उनले मतिर हेरिन् । मेरा आँखाबाट पानी बग्दै थियो । उनले त्यो पुछिदिइन् । विस्तारै मेरो कपाल र अनुहार मुसारिन् । मेरो शीरदेखि छातिसम्म धेरैपटक चुम्बन गरिन् । उनले मेरा पाखुरामा समातेर म तिर ढल्किँदा उनका आँखाबाट झरेका तीन थोपा आँशु मेरो छातिमा टक्क अडिए । उनका यति व्यवहार पश्चात मैले डर हराएको अनुभव गरेँ । म मा पुनर्ताजगी छाउँदै थियो । उनी फेरी आफ्नो यथास्थानमा पल्टिइन् । केहि क्षणमा नै पुनः ढोका खुल्यो । त्यही प्रकाश फेरी मेरो आँखामा प¥यो । त्यहि कालो छायाँ मेरी श्रीमतीको शरीरबाट फाल हालेर कोठाको भुइँमा पुग्यो । त्यो ढोकातिर लम्कँदै थियो । म ठुलो आँट र बल गरेर चिच्याएँ । “को हो ?” त्यती नै बेला मेरा आँखा खुले । ढोका ड्याम्म लाग्यो । बत्ती निभे । पंखा चल्न छाडे । उनी जुरुक्क उठीन् र बत्ती बालिन् । मैले मेरो छाती हेरेँ । तीन थोपा आँशु यथावत अडिएका थिए । उनले आफ्नो कपालले मेरो आँखामा झ्याम्म हानिन् । म झस्किएँ । उनको कपाल त्यती लामो थिएन । म आँखा मिच्न थालेँ । उनी ठुलो स्वरमा मुस्कुराउन थालिन् । आश्चर्य लाग्यो । कति अनौठो हाँसो । उनले त मसँग कहिल्यै यस्तो व्यवहार गरेकी थिइनन् । उनी अझ ठुलो आवाजमा हाँस्न लागिन् । उनीतिर नजर लगाउनासाथ म छाँगाबाट खसे भैmं भएँ । उनी मेरी श्रीमती थिइनन् । फेरी आँखा मिचेर हेरेँ । उनी त मेरी पूर्व प्रेमिका थिइन् । ठीक अघि कोठाको बाहिरबाट आएको आवाज जस्तै जोडसँग चिच्याहट तवरले उनी हाँस्न लागिन् । मेरो मुटु दुख्यो । त्यस पश्चात के भयो मैले केहि थाहा पाइनँ । आज दुई महिना पश्चात म ब्युँझिएको रे । हस्पिटलको बेडमा । पहिलो पटक आँखा खोल्दा उनै मेरी प्यारी पत्नीको कारुणिक अनुहार देखेँ । उनका आँखाबाट बगेको आँशु चिउँडोमूनि टिलपिल टिलपिल गर्दै थियो ।
बिर्तामोड, झापा
२०६७ आषाढ ०८
पूर्वञ्चल दैनिक बिर्तामोडमा प्रकाशित मिति २०७२/०५/१२ शनिबार
(स्रोत : रचनाकारको ब्लगबाट सभार)