~बाबु त्रिपाठी~
त्यस्तो भिर
मैले पैलोचोटि देखेको हुँ
जहाँ
भिरमै ठडिएका थिए
घरका खाँवा र धुरीहरू
भिरमै जेलिएको थियो
गड्यौलाजस्तो बाटो
जो वयेली खेल्दै
पुग्दा रहेछन्
सदरमुकामसम्म
त्यहाँका मान्छेहरु भन्थे
भिरमै फलेको हो
बोराका बोरा कोदो,
मकै र
आलु
मैले पैलोचोटि
भिरमा देखेको हुँ
सपनाको हाटबजार
जहाँ बिक्रीमा थियो
नुन, चाउचाउ
र बिस्कुट
खुट्टाले पनि
एकैचोटि टेक्दो रहेछ
बतासलाई र बाटोलाई
त्यहाँका मान्छेहरू भन्थे
अचेल बतासले पनि
भिर मन पराउन थालेको छ
मैले पैलोचोटि
भिरमा देखेको हुँ
ईश्वरको बास पनि
त्यहाँका मान्छेहरू भन्थे
गाईवस्तुहरू भिरमै चर्छन्
यहाँका भुरासँग भीर डराउँछ
चराहरू भिरमै आएर
परेड खेल्छन्
मैले
पैलोचोटि भिरमा भेटेको हुँ
सुत्केरी आमाहरू
त्यहाँका मान्छेहरू भन्थे
यहाँका बिरुवाहरू
इमान्दार सिपाहीजस्ता छन्
मैले
पैलोचोटि भिरमा भेटेको हुँ
हरियो घाँसले
भरिएको डोको
भिरभन्दा बाहिर त –
अँध्यारो थियो
मैले पैलोचोटि देखेको हुँ
भिरमा नदीलाई
पैलोचोटि भेटेको हुँ
माकादुमलाई
र, मुस्कुराउन
जानेका मान्छेहरूलाई ।
(* माकादुम : रामेछाप जिल्लाको एक गाउँ)