~डिल्ली मल्ल~
जब देखिदै जान्छन्
विकट विगतका उन्मुक्त सपना
र, सम्झन्छु–
आफ्नै शिरमाथिको विद्रुप वर्तमान
परेलीको पहाड नाघेर
उर्लिन थाल्छन् कर्णालीका छालहरु
आँखै अगाडि घुमिरहन्छ
आफ्नै चिहान खन्न
गैती र बेल्चा बोकेर कुदिरहेका योद्धाहरुको लस्कर
अर्को साँझमा आफ्नै लास बोक्न
स्टे«चर बाँधिरहेका स्वप्नदर्शीहरुको जाँगर
र, नाचिरहन्छ आँखैभित्र
सन्त्रस्त मन लिएर
आफन्तजनकै भीडमा ‘आतंककारी’ खोज्न निस्किएका
आज्ञाकारीहरुको अनुहार
परेलीमै टाँसिएर आएछन् सायद
घरी–घरी झस्काइरहन्छन् तिनै दृश्यहरुले
हिउँदयामपछिको हिउँचुलीजस्तै
सेतै फुलेका वृद्ध बाबाको काँधमा लत्रिएको
क्षतविक्षत जवान छोराको लास
अँगेना छेऊमा अर्धचेत
वृद्ध आमाको काखमा पल्टिएको
बलात्कृत छोरीको लास
घुमिरहन्छ आँखैभित्र
सपना फलाउने याममा
आफै चिहानघारीमा फलेका जवान छोराछोरीलाई
टुलुटुलु हेर्न विवश
वृद्ध आँखाहरुको वेदना ।
भुल्नलाई जब चिम्लन्छु आँखाहरु
झनै प्रष्ट बन्दै जान्छन् यिनै दृश्य
र, लाग्छ– चिहानघारीबाट उठेर लासहरु
एक–एक हिसाब मागिरहेछन् मसँग ।
देखिरहेछु
बुद्धहरु लिलाम बिक्री भइरहेको यसबखत
खरिद भइरहेछन् बन्दुकहरु
र, नाङ्गो झुपडीको छातीमा कुल्चेर
तँछाडमछाड गरिरहेछन् सैतानहरु
बन्नलाई फेरि नयाँ बादशाह ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)