कविता : आमाको काख

~ध्रुव सत्य~

सानो छँदा
तिमीले मलाई जटिल प्रश्न
गरेका थियौ—
आमा, म कहाँबाट आएको हुँ ?
तिमी सूर्यबाट आएका हौ ।

मेरो जवाफ पाएपछि
तिम्रो मुहार घामजस्तै
चम्केको थियो ।

एक बिहान,
रातो घामलाई हेरेर
फेरि तिमीले सोध्यौ—
आमा, म घाममा फर्कन सक्छु ?
तिम्रो प्रश्नले
घामजस्तै चम्केको थियो
मेरो मुहार ।

तिमी फेरि घाममा फर्कन त सक्दैनौ
तर, स्वयं घाम भएर चम्कन भने
सक्छौ ।

अर्को प्रश्न ग¥यौ—
आमा, तिमी कहाँबाट
आएकी हौ नि ?
म त धर्ती फोडेर निस्केकी
तिमीले धर्तीमा
भर्खर–भर्खर
पाइला चाल्दा
ममा डर र खुसी एकैपटक
जागेको थियो
तिमीले पाइला चालेकामा खुसी
फेरि लड्छौ कि भन्ने डर
यही त
एउटी आमाको जुनीभरिको दुःख ।

आमाको पत्र चुमेपछि
सम्झन्छु—
सन्तान भीर भएर खस्दा पनि
सन्तान वीर भएर
शिखर चुम्दा पनि
पहाड बनिदिने आमा
मेरी आमा पहाड हुन कि
पहाड नै आमा हो ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.