~सिमा आभास~
आगोमा पानी घोप्ट्याएझैँ
निभेथ्यो उसको तरुनी बैँस
बिजुली चम्किएर चट्याङ पर्दै गर्दा
हिँडी सिस्नुको घुम ओढेर एक्लै ।
भत्काइ आफैँले बनाएका
गौडा र गल्छेडा
बदली बोलीरहेको भाषा
भत्कँदै गइ पहिरोझैँ
सललल… तलसम्म
र रुख बनेर लडी बाढीमा ।
उसको बाटो छेक्ने क्षितिज
पुच्छ्तै
अड्काइ नङका कापमा ।
हिँड्ने
बेलामा आफ्नो पुरानो फोटो उल्टाइ
भित्तामा
अनौठो आवाज ओठमा टाँसेकी थिई
त्यो पनि छोडी
पुस्तकका चाङमािथ
उपहार पाएको निलो कलम र
मोटो डायरी ।
ऊ बेहोस थिइ त्यतिबेला ।
थिएन उसको झ्यालमा हावा डुलेको
थिएन प…र अपरिचितले
बजाउने
विनायोको धून
कविता गाउने चरा आएनन्
परतिरको बगैँचामा
बन्द थियो घडीको सुइ
अध्यारोमै हराएको थियो बत्ती
आवाज निभेको त्यो साँझ
चुपचाप थिए धारा
बढ्दै थियो घनघोर बर्षा
छिटोछिटो चम्कँदै थियो बिजुली
बेवास्ता गरी चट्याङको डर
लाग्दो आवाज
निस्फिकि्र लागि आफ्नो बाटो
उ… माथि देखिने मन्दिर हेर्दै
दुइजोर कपडासगै
लिएर शुन्य मन
सोध्नेहरुलाई भन्छे- फर्कनेछु…
तर उसलाई थाहा छ
ऊ फर्कने छैन
ब्यहोर्न चट्याङ र बिजुली
उसलाई देखाउन मन छैन
छाला फूटेका पैताला र
लाली उडेका ओठ
ऊ ब्यस्त छे आफूलाई
झुक्याउँदै
अरुलाई झुक्याउन ।
जतन गर्न बिसे्रकी छैन
भाइले खेलाएको बन्दुकको खेलौना
सङ्गीनीले उपहार दिएको
सृङ्गार
बाकस
पहिलो मायालुले सुटुक्क
किताबमा चेपिदिएको प्रेमपत्र
बेलाबेला पत्र खोलेर पढ्छे-
प्रीय सरला
… … …
… … …
… … …
रातो अनुहार पारेर पुच्छे
अतितको क्षितिज
अनि मुख छोपेर हत्केलाले
घोप्टिन्छे आफ्नै घुँडामा ।