~हेमन यात्री~
मैले पहिलो पटक भोजपुरको दुङ्मा देखेको लगभग एक दशक भएछ । यसबीचमा दुङ्माले थुप्रै आरोह–अवरोह पार गरिसकेको छ । उसबेलाको दुङ्मा र यसबेलाको दुङ्मा निक्कै फरक भएको छ । सपनाले नभ्याएको सडकबाटो आज दुङ्माको आँगनमा आएर लमतन्न पसारिएको छ । केटाकेटीहरू मस्त सुतीरहेको सडकको आङमाथि उफ्रिदै धुलो उडाइरहेका छन् । बाबुआमालाई दुईदिनको समय चोरेर धनकुटादेखि ढाकर बोक्नुपर्ने अवस्था छैन आज । विभिन्न दातृ निकायहरूबाट सामाजिक, आर्थिक र शैक्षिक विषयहरूमाथि कार्यक्रमहरू भैरहेका छन् । तर फेरिएका छैनन् यहाँका ढुङ्गा–माटो, बटवृक्ष, हावापानी र दुङ्मालीले बोकिहिँडेका मौलिक भाषा र संस्कृतिहरू ।
–०–०–०–
खडेरीले बोकिलगेको धर्तीको वैँशजस्तो सुख्खा र निर्जन लाग्छ सम्पूर्ण दुङ्मा । डढेलो लागेर भर्खर रोकिएको पाखाजस्तो उराठ लाग्छ यहाँको परिवेश । आगलागीले खरानी भएको घरमा अमूल्य धातु कतै जोगिएको छ कि ! भनेर खोजिरहेको घरधनिजस्तो केही खोजिरहेको छु म यो दुङ्माको छातीमा टेकेर । हुस्सुले घाम छोपेर सा¥है निराश देखिएको छ दिन । लगातार ३८ वर्षदेखि एक्लैएक्लै हिँडिरहेको देवकुमारी उर्फ कोइराल्नी दिदीसँग भेट भएको छ । यी एक्ला मानिस, एक्लो घर, एक्लो बसाईँ । यसरी ३८ वर्षदेखि यो क्रम निरन्तर चलिरहेको छ । अझ कति दुःख झेल्नुपर्ने हो, थाहा छैन यिनलाई ।
दुङ्माको ७ नं. वडाको साहुटोल । एक्लो घर । कमेरोले पोतिएको भित्ता, साथमा रातो माटाले भित्ताको फेदी चिटिक्क देखिनेगरी सजिएको छ । सफा आँगन । छेवैमा गाई–बाख्राको ग्वाली । केही बाख्राहरू बारीमा चरिरहेका छन् । कोइराल्नी दिदी आँगनमा कराईरहेका बाख्रापाठो समाएर प्रेमले खेलाइरहेकी छिन् । म घरको सिकुवामा बसेर फकाइरहेको छु यिनलाई । यिनले एक्लै बिताएको ३८ वर्षे कथाको बारेमा ।
“तपाईको कथा भन्नुहोस् न दिदी म लेखिदिन्छु ।”
“किन लेख्नुहुन्छ नानी ? यो दुखियाको कथा ? छि ! यस्तो दुःखको कथा पनि लेख्ने हो तपाईहरूजस्ताले ?”
कोइराल्नी दिदीलाई लागेको होला । दुःख कुन चरीको नाम ! यी घुमन्तेलाई के थाहा ? जीवनमा यसरी दुःखको बारेमा सोध्ने र सुनिदिने मानिस यिनले भेटेकी रहिनछे सायद ।
“नानी ! पाँच दिन पाँच रात लाग्छ मेरो कहानी सुनाउनलाई । फेरी यो दुःखको कुरा गरेर के यो आँखालाई दुःख दिनू ? जे भोगियो मनैमा छ नानी !” बच्चाबच्चीलाई फकाएजसरी गर्छु म, कोइराल्नी दिदीले मनको गाँठो नफुकाएको देखेर । हुन पनि हो, एकदिन भेटेको उरन्ठेउलो मजस्तालाई तिनले किन आफ्नो कथा भन्ने ? तर म पनि कहाँ छोडूँला र यिनलाई, यिनको कथा नसुनी ।
–०–०–०–
प्रजातन्त्रको आगमनसँगै २००७ सालमा खोटाङको सावाकटहरेमा जन्मेको म । लगभग ५८ वर्षअघि दुङ्मा ल्याएका हुन् आमा र कान्छा बाउले । त्यसपछि १५ वर्षको कलिलो उमेरमै घरबाट गाउँकै खाती थरका केटासँग विवाह गरिदिए । विहे भन्ने कुरा थाहै थिएन मलाई । कस्तो हुन्छ ? डोली चढेको याद छ । उसबेला उ…पारी होम्ताङबाट डोली बोक्ने भुजेलहरू आएका थिए । तर नियतिले मेरा सुख देख्न सकेन । विवाह भएको ७ वर्षपछि अकस्मात् ईश्वरले हमला गर्न थाले मेरो जीवनमाथि । केही दिनको बिरामीपछि ७ वर्षबाट सँगै रहेको जीवनसाथी कहिल्यै नआउने गरी गए दुनियाँमा मलाई एक्लै छाडेर । संसारमा शून्य सिवाय केही देखिन त्यसबेला । घरमा एकैछिन बस्ने मन भएन । माथले काम गर्न छाड्यो । कहिलेकाँही त हिँड्दाहिँड्दै अनकन्टार भीरमा पुग्थेँ र सोच्थेँ जीवनको दुःख काट्ने ठाउँ यहीँ रहेछ तर कुन इन्द्रियले काम गथ्र्यो कुन्नी ? फर्किएर आउथेँ । आखिर देख्नु थिएछ कलियुग, खप्नु थिएन दुःख र बाँच्नु थिएछ यतिञ्जेल ।
नानी ! आफ्नो मान्छेहरू सबै–सबै पराय हुदाँरहेछन् । आफू एक्लो र दुखिया भएपछि । एक्लोहरूको पनि एक्लो मान्छे हूँ म । लोग्ने मरेको केही दिनपछि बा पनि मरे । आमा अर्कैसँग हिँडीन् । मालामाईती कोही नभएका । आजकल हेर्छु मेरो माईतीघर–भत्किएको ढुङ्गाको गारो, केही थान कोलाको बोट र बाँसका झ्याङ्गहरू मात्र छन् । कहिलेकाँही हेर्छु आँसुमात्र आउँछ नानी ! लोग्ने मरेपछि ८ वर्षसम्म घर छोडेर बेहोशी मै बाहिर गोठमा बसेँ । यी अहिले मेरो भन्नु कोही छैन । यो घर पनि देवरको हो । देवर बसाई गएपछि मलाई यहाँ राखेका हुन् । मरेपछि आफ्नै नाउँको माटोमा राखिदिनू भन्दा पनि आफू अट्ने जमिन छैन मसित । तर बाँच्ने यौटा जीवन चल्नचाहीँ चल्दो रहेछ जसरी पनि ।
–०–०–०–
अहो ! जीवन त कति भयावह लाग्दो । मैले त आजसम्म यो दुङमाको बाहिरी अनुहारमात्र देखेको रहेछु । कोइराल्नी दिदीजस्ता पात्रहरू कति होलान् यहाँ ? थाहा छैन । खास दुङ्मा आफैले चाहीँ नजिकबाट आफैलाई कति हेरेको छ ? र कोइराल्नी दिदीजस्ता एकल निमुखाको लागि के–के काम गर्दैछन् ? थाहा छैन ।
–०–०–०–
चराहरू गुँढ फर्किरहेका छन् । बारीमा सुकीसकेको दुबो र झारपात चपाइरहेका गाईबाख्रा घर फर्किरहेका छन् । मेइ…ला गर्दै कोइराल्नी दिदी काखमा बाख्रापाठो खेलाउँदै बसेकी छिन् । मानौं, तिनले सन्तानलाई गर्ने प्रेम र पाउने भनेकै पशुपन्छीहरूबाटै हो । कोइराल्नी दिदीलाई सोध्न चाहेर पनि मुख लागिरहेको छैन मेरो । हुन पनि आमाजस्तो मानिसलाई कसरी सोधूँ ? यस्तो प्रश्न ? आ ! जेसुकै होस् सोध्छु– दिदी तपाईका बच्चाबच्ची नभएको हो कि छन् ? कोइराल्नी दिदी मधुरो आवाजमा बोलिन्– “छैन” फेरि थप्छु म मौकाको फाइदा उठाउँदै – “आजकल त मानिसहरू लोग्ने अथवा स्वास्नी मरेपछि अर्को विवाह गर्छन त ? तपाईलाई विवाह गर्ने मन भएन ?” मुजा परेको गालामा अलिकति मुस्कान छाड्दै– “आम्मै ! कसरी गर्नु विवाह ? गरे पनि पहिलाको जस्तो माया कहाँ हुन्छर ! तपाई आफैँ भन्नुस् न नानी ! हाम्री बहिनीलाई लग्नु भाछ, उनलाई केही भइहालेमा बहिनीजस्तो अर्को पाउनुहुन्छर ?”
मैले केही जवाफ दिन सकिनँ । बरू झस्किएँ एकपटक, गहिरो निद्राबाट ब्यँझिएजसरी । र मनमनै कामना गरेँ अब यस्तो कहिल्यै, कसैलाई पनि नहोस् ।
कोइराल्नी दिदी गाईबाख्रा ठेगान लगाउन हिँडिन् । म तलतल बगेको उदास अरूण हेर्दै दुःखको यौटा आँगन छोडेर हिँडिरहेको छु, हृदयमा दुःखको सिरेटो सिउरीएर ।