~योगेन्द्र रिजाल~
तिम्रो प्रेमिले
उहिले खुसुक्क
सिउरिदिएको फूलको
सुकेको पत्ती,
वतासजस्तो उहिले
तिमी डुल्ने
गरेको पहाड,
घास-
दाउरा जाँदा बिझेको
जङगली काँडा,
वा, कसैले
तिम्रो गालामा झोसेको
अगुल्टो अझै
बल्दैछ त्यहाँ ।
देख्दै
गरेको मिठो सपना बिथोलिएर
पानी बोक्न जाँदा लडेको पँधेरो,
बिरामी पर्दा तिमीलाई
रुँगेको अधेरो,
मानसिक
अस्पतालमा भर्ना गरेर
तिमीलाई
गोरखपुर बजारमा बाले
किनेको टिफिनको बट्टा,
रातो तुमलेट,
एक्कासी छिनेर
फेरी गाँस्दै गरेको रातो पोते,
वा,
पोखिएको छ फुटेर
एकबट्टा सिन्दुर त्यहाँ ।
तिमीले
ताल्चा मारी राखेको त्यहाँ
तिम्रो
गट्टा खेल्दाखेल्दै
लुटिएको बालापन छ कि,
बुन्दाबुन्दै
छाडेको स्कार्फजस्तो
तिम्रो यौवनको अधुरो
सपना छ
कि, आधामात्रै हिंडेको
स्कुल जाने
बाटोजस्तो
तिमीले आधा बुनेको मफलर,
तिम्रो आफ्नै आँगन,
तिम्रो आफ्नै
आकाश,
तिम्रो आफ्नै घाम,
तिम्रो आफ्नै जून,
तिम्रा आफ्नै आत्मिय ताराहरु,
वा,
तिम्री आमाले सिकाएको
तर
तिमीले गाउन नसकेको
गीत छ त्यहाँ
तिमी सानी छँदा चढ्ने
गरेको बेलाउतीको रुख
जुन नुगिरहन्थ्यो
केबल उजस्तै
फूलेका छन् कि रहरहरु
हाँगाहाँगामा तिम्रा पनि
कि छ
तिमीले थुनेर
राखेको यौटा भयङ्कर
जिन्दगी त्यहाँ ?
खोलेर
यती छिटो गर्छ्यौ बन्द
मानूँ
कि,
तिमीलाई झम्टिहाल्ने
केही छ त्यहाँ
के छ आमा त्यो दराजमा ?