कविता : एक जमनामा

~प्रकाश रम्घाली~prakash-ramghali

मनभित्रै प्रेमको बस्ति बसाउन चाहाने
तर-
छातीको बाँयापट्टी
शान्तिको परेड खेल्न असमर्थ
क्यानम !
लाहुरे मुटु पनि थियो- एक जमनामा ।

पुरानो घरको बार्दलीमा बसेर
बाटोमा कामुक आँखा ओछ्याउने वयस्क घाम
र, पिपलको हाँगामा झुड्डिएर
हरेकदिन अश्लिल प्रेम प्रस्ताव राख्ने
क्यानम् !
लाहुरे समय पनि थियो- एक जमनामा ।

सितन बिनै लोकल रक्सी घुट्क्याएर
ओठमाथि लामो जुंगा मुसार्दै थानामा
आफ्नै विचारलाई बन्दी बनाउने
क्यानम् !
लाहुरे थानेदार पनि थियो- एक जमनामा ।

जनता मरुन कि बाँचुन ?
तर-
दरवारमा हरेक साँझ भोज खुवाएर
मध्यरातमा साईरन बजाउदै फर्कने
क्यानम् !
लाहुरे सरकार पनि थियो- एक जमनामा ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.