कविता : त्यस रातको सपना

~गणेश कुमार राइ~

गाउँमा अचानक बाँसुरी बज्न छाड्यो
धपाइन छाडे जंगलमा भेडाहरु
रातभरि एक्लै निदाउन थाल्यो गोठ
बाँसुरी बजाउने भरुने
भेडा चरणमा गाउने चतुरे
र गोठ रुङ्ने दातेन
सबै–सबै अकस्मात हराए गाउँबाट
गाउँमा उनीहरुका सोल्टीना थिए
थिए खोरीयामा पलाएका सुनपाती
र खरले छाइएका सेता घरहरु
एक रात दातेनको गोठमा सँगै सुतेपछि
देखेका रहेछन् शुभ–सपना
र छाडेका रहेछन् गाउँ–उनीहरुले
सपाना–
निलो आकाश चोइट्याएर छानाको रङ फेर्ने
सुनाखरी फूलाएर सोल्टीनाको कपाल रंगाउने
र जीन्दगीमा उमार्ने अर्को सुनपाती मुना
तर,
रंग उनीहरुकै सपनाको फेरीएछ
उनीहरुको सपना त्यसैगरि गुमनाम भो
जसरी
बाँसुरी बज्न छोडेको थियो गाउँमा
र पहिरो गएको थियो साल्टीनाको मनमा
अब कहिल्यै
बज्ने छैन बाँसुरी
फूल्ने छैन सुनाखरी
र डुल्ने छैन जंगलमा भेडीचोक
तारा चिहाइरहेछ
चुलोमा आगो बले/नबलेको
सोल्टीना आलै आँसु लिएर
भर्खरै फर्किएकी छिन्– विमानस्थलबाट ।।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.