~रुमानी राई~
साथी !
के बताउँ मेरो हाल तिमीलाई ?
जीवनको
पहिलो पाईला
धर्तीमा चाल्न सुरु गरेदेखि नै
हिंड्दैछु
पाईला मेट्दैछु ।
अचेतन मै
आफ्नो छायाँसित नतर्सिएरै
आफै भाग्दैछु ।
उमेरको घोडा दौडीरहेछ
तवेला-गन्तव्य ताकेर एकोहोरो ।
म विवश छु,
तिमीले भने जस्तो सजिलै
समय-लगाम्ले
कहाँ अँइच्याउन सकिदो रहेछ र
उमेरको घोडालाई !
जीउने वहानामा
यति साँघुरो र बेसुर बाँचिएछ कि,
-आफ्नो घर
– आफ्नो परिवार
– आफ्नो नाताकुटुम्व
-आफ्नो छरछिमेकी
– आफ्नो समाज
अर्थात,
नाङ्गो आँखाको सिमित परिधी भन्दा
आली पर…सम्म सोच्नै भ्याइएन छ जीवन
यति मात्र होइन,
यात्रा र भोगाइको हरेक बुर्कुसीसंगै
पत्तै भएन
कहाँनीर खसे जीवनका रङ्गहरु !
अब,
समय-पातबाट टिपेर रङ्गहरु
बाँकी जीवन रंगाउनु छ !
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)