~पुष्कल श्रेष्ठ~
मनोविज्ञानमा ‘एम.ए.’को परीक्षा सकिने वित्तिक्कै कुन ‘टपिक’मा ‘थेसिस’ लेख्ने होला भन्ने प्रश्नले विद्यार्थीहरूलाई पिरोल्न थालिसकेको थियो। अन्तिम दिनको परीक्षा सकिएपछि हामी केही साथीहरू चिया पसलमा चिया पिउँदै त्यही विषयमा कुरा गर्न थाल्यौं तर त्यसदिन केही भएन।
‘‘यस्तो बेलाँ कुरा गरेर नि हुन्छ? भोलि विहान ‘फ्रेश मुड’ मा कुरा गरौं। ‘मर्निङ वाक’ गर्दै क्रिकेट मैदानमा सबैजना जम्मा होऔं। बरू कपालभाति र अनुलोम-विलोम त्यहीँ गरौंला। सबैले आ-आफ्नो ‘फ्रेश आइडिया’ त्यहीँ ‘शेयर’ गरौंला। त्यसो गरे कसो होला?’’ छुट्टिने बेलामा हरिकलाले प्रस्ताव राखिन्।
‘‘‘हरिबंश्या’ छोरीको कुरा मलाई मन प-यो। लौ म चाहिँ आउने भए ठीक सात बजे।’’ हरिकलालाई जिस्क्याउँदै किरणले उनको कुराको समर्थन गरे। हरिकलाको बोल्ने शैली चर्चित कलाकार हरिवंश आचार्यसँग मिल्दोजुल्दो भएकोले उनलाई हामी जिस्क्याउँदा ‘हरिबंश्या’ चेली भनेर सम्बोधन गर्छौ। किरणको कुराले चियापसलमा हल्का हाँसो गुञ्जियो। ‘‘‘मदनकिस्न्या’ छोरोले भन्या ‘ट्याम्मा’ म पनि आउने भएँ’’ सरलाले पनि समर्थन जनाईन। सरलाको कुरा सुन्ने वित्तिक्कै हरिकलाले भर्खर मुखमा हालेको चिया पाउरोटी फुत्त भुईँमा खस्यो। अब भने राम्रै हाँसो छायो चिया पसलमा। किरण उही चर्चित कलाकार मदनकृष्ण श्रेष्ठको नक्कल गर्छ कहिलेकाहिँ। त्यै भएर सरलाले उनलाई ‘मदनकिस्न्या’ चेलो भनेकी हुन्।
‘‘तर सबैले एकसे एक ‘ब्रान्ड न्यू’, ‘युनिक’, र ‘सरप्राइजिङ्ग’ ‘आइडिया’ सोचेर आउँनु पर्छ है’’ हरिकलाले आदेश दिइन। उनको आदेशलाई शिरोपर गरी हामी पाँचजना छुट्टियौं।
‘‘को-कोले के-के ‘आइडिया’ सोच्या’छ लौ रहस्यको पोको खोलौं त’’ क्रिकेट मैदानमा पाँचैजना भेला हुने वित्तिक्कै सरलाले कुरा झिकी हाली।
‘‘मनोविज्ञानको विद्यार्थीले त मनोविज्ञानमै ‘थेसिस’ लेख्नु प-यो हैन त? त्यसैले मैले त तत्कालीन राजा ज्ञानेन्द्रको महाराजाबाट नागरिक हूँदा उनको मनोविज्ञानमा आएको परिवर्तनका बारेमा ‘थेसिस’ लेख्ने विचार ग-या छु। मेरो ‘थेसिस’ ‘सुपरहिट’ हुनसक्छ, कि कसो साथी हो?’’ किरणले आफ्नो योजना बतायो।
‘‘मेरो पनि किरणकै जस्तो विचार छ। तर मैले चाहिँ प्रचण्डको मनोविज्ञानको विश्लेषण गर्ने विचार गरेको छु। उनीसँग जङ्गलको शक्ति, सत्ताको शान र सडकको विलौना तीनवटै कुराको गजबको अनुभव छ।
जङ्गलबाट सत्ताहुँदै सडकसम्मको यात्रामा उनको मनोविज्ञानमा आएको परिवर्नन वारे ‘थेसिस’ लेखियो भने एउट नयाँ ‘थ्योरी’को प्रतिपादन हुनसक्छ।’’ गोपालले पनि आफ्नो विचार राख्यो।
‘‘किरण र गोपालको ‘टपिक’चाहिँ ‘पोलिटिकल’ रहेछ। मेरो चाहिँ शुद्ध ‘साइकोसोसियल’ छ। मैलेचाहिँ नेपालका सवैभन्दा अग्ला व्यक्ति राजन अधिकारी र संसारकै सबैभन्दा होचा व्यक्ति खगेन्द्र थापामगरवीचको मनोविज्ञानको तुलनात्मक अध्ययन गर्ने विचार ग-या छु। मेरो ‘थेसिस’ले मनोविज्ञानको क्षेत्रमा एउटा नयाँ ‘थ्योरी’ दिनेछ। यसलाई प्रकाशन गरियो भने पक्का ‘बेस्ट सेलर’ हुन्छ बुझ्या हो तिमीहरूले?’’ मैले मेरो योजना बताएँ।
‘‘तिमीहरू सबैले विवाहित पुरूषहरूको ‘एक्स्ट्रा मारिटल सेक्सुअल अफेयर्स’(लोग्ने-स्वास्नी वाहेक अन्यसँगको यौनसम्बन्ध) का बारेमा सुनेका र पढेका हौला। मचाहिँ ‘एक्स्ट्रा मारिटल सेक्सुअल अफेयर्स’मा संलग्न विवाहित महिलाहरूको मनोविज्ञानका विषयमा ‘थेसिस’ लेख्छु। मेरो ‘थेसिस’ले पक्कै पनि सनसनी मच्चाउनेछ र ‘बेस्ट सेलर’ पनि हुनेछ।’’ हरिकलाले उनको ‘थेसिस’ कस्तो हुनेछ भन्ने कुरा बताइन्।
‘‘तिमीहरूको सबैको ‘टपिक्स’ थाहा पाएँ। लौ मेरो पनि थाहा पाओ। तिमीहरूले बलत्कृत पुरूषको बारेमा सुनेका छौ? हो, मचाहिँ बलत्कृत पुरूषले भोगेको मनोसामाजिक समस्याहरूका विषयमा ‘थेसिस’ लेख्छु।’’ सरलाले अन्तमा भनिन्।
हामीले एक अर्काको ‘टपिक’ सुन्यौ, मरिमरी हाँस्यौ र ‘त्यसो गरे कसो होला’ भन्दै एकले अर्कोलाई सल्लाह पनि दियौं। जेहोस् हामीलाई आ-आफ्नो ‘थेसिस’ ‘ब्रान्ड न्यू’, ‘युनिक’, र ‘सरप्राइजिङ्ग’ हुने कुरामा पक्का विश्वास थियो। अब आ-आफ्नो ‘सुपरभाइजर’सँग दिउँसो भेटेर सल्लाह गर्ने सहमति बनाएर हामी आ-आफ्नो घरतिर लाग्यौं।
दिउँसो हामीले आ-आफ्नो ‘सुपरभाइजर’सँग कुरा ग-यौं। ‘सुपरभाइजर’हरूले हाम्रो तातो जोशमाथि चिसो पानी खन्याइदिए। ज्ञानेन्द्र र प्रचण्डले समय देला र अक्सर झुठो बोलिरहने यीनीहरूले सही कुरा बताउलान् भनेर कसरी विश्वास गर्ने? सही कुरा वाहिर आएमा राजनीतिक वातावरण र व्यक्तिगत छविमा नकारात्मक प्रभाव पर्न सक्छ भनेर पनि उनीहरूले केही नबताउन सक्छन् वा बताए भने पनि काल्पनिक कुरा बताउने सम्भावना बढी हुनसक्छ। त्यसैगरी, ‘एक्स्ट्रा मारिटल सेक्सुअल अफेयर्स’मा संलग्न विवाहित महिलाहरू र वलत्कृत पुरूष पहिचान गर्न नै कठीन हुन्छ, पहिचान भए पनि उनीहरूको गोप्यकुरा सोध्ने अधिकार कसैलाई हुँदैन। हो, सबभन्दा अग्ला र होचासम्बन्धी अध्ययन चाहिँ सम्भव हुनसक्छ यदि उनीहरूसँग भेट हुन सक्यो भने। त्यसकारण तिमीहरूले अझै दशपल्ट ठण्डा दिमागले सोच र अनि सल्लाह गर्न आओ। ‘सुपरभाइजर’हरूको यस्तो सल्लाह पाएपछि हामी सबै खिस्रिक्क परेर घर फर्क्यौं।
मेरो टोलमा एउटा नामी बलत्कारी वस्छ। उ टोलको दादा पनि हो। मैले फलानोलाई फलानो ठाउँमा फलानो दिन यसरी वलत्कार गरेँ भन्दै हिड्छ ऊ बेलाबेलामा। जो महिला वलत्कृत हुन्छिन् तिनले लोकलाजले गर्दा कसैसँग केही बोल्न सक्दिनन्, अरूले कसले बोल्ने आँट गर्नु। एकदिन म तरकारी किनेर फर्कँदै गर्दा चोकमा साना भुराभुरीलाई आफ्नो वहादुरी सुनाउँदै रहेछ ऊ। त्यसमध्ये एउटाले उसलाई सोध्यो, ‘‘‘अङ्कल’, तपाईलाई चैं कसैले वलत्कार गरेको छैन?’’ बच्चाको प्रश्न सुनेर ऊ बेस्सरी हाँस्यो र भन्यो, ‘‘छैन, छैन। कसैले ग-यो भने तिमीहरूलाई बताउँला नि हुन्न? हा..हा…।’’ म पनि फिस्स हाँसे र घरतिर लागेँ।
‘‘लौ आयो ताजा खबर! पुरूष पनि बलत्कारको शिकार! सम्वेदनशील अङ्गहरू क्षतविक्षतज्! अस्पतालमा गम्भीर हालतमा उपचार जारी! चर्चित बलत्कारी आफै बलत्कृत!’’ एक दिन विहान सबेरै ‘हकर’ले नयाँ खबर सुनायो। पत्रिका किनेर पढेँ, त्यहाँ पनि त्यही कुरा लेखिएको रहेछ। यी पत्रिकाहरू विकाउनका लागि जे पनि लेख्छन् भन्दै मैले वास्ता गरिन। एफ.एम. रेडियोको समाचारबाट पनि त्यही कुरा सुनियो। मैले ‘कन्फर्म’ गर्न टोलका साथीहरूसँग सोधे, बलत्कारमा पर्ने त टोलकै त्यही स्वयम वलत्कारी गुण्डा पो रहेछ। मैले तुरून्त सरलालाई फोन गरेर भने, ‘‘सरला, तिम्ले आजको ताजा समाचार सुन्यौ। हाम्रो टोलको नामी वलत्कारी गुण्डा त गए राती आफै नराम्ररी बलत्कारमा परेछ नि! तिम्ले बलत्कृत पुरूषको मनोविज्ञानको विषयमा ‘थेसिस’ लेख्छु भन्या हैन? तिम्रो ‘थेसिस’ अब सजिलै तयार हुने भो।’’ मैले एकै सासमा सबै कुरा भन्न भ्याएँ। ‘‘धन्यवाद अरूण, त्यो कुरा मलाई थाहा छ।’’ सरलाले बडो सरल ढङ्गले जवाफ दिइन्। उनी त ‘एक्स्साइटेड’ हुनु पर्नेमा निक्कै ‘कुल’ पाएँ। ‘‘के भो तिमीलाई? तिमी ‘एक्स्साइटेड’ हुनु पर्नेमा म पो ‘एक्स्साइटेड’ भैरा’छु। के हो यस्तो?’’ मैले प्रतिप्रश्न गरेँ। ‘‘तिमी पाटनदरवार ‘स्क्वायर’मा आऊ, म पनि त्यहीँ आउँछु अनि चिया पिउँदै यस विषयमा कुरा गरौंला हुन्न?’’ उनले भनिन्। मैले पनि तुरून्तै हुन्छ भने।
‘‘तिमी किन यतिविघ्न ‘कुल’ भएकी हँ? तिमी त ‘एक्स्साइटेड’ हुनु पर्ने हैन?’’ पाटन कृष्ण मन्दिरको सिँढीमा टुसक्क बस्न नभ्याउँदै मैले सरलालाई सोधे। मेरो प्रश्नको जवाफमा शुरूमा हाँसिन् मात्र।
त्यसपछि बल्ल बोल्न थालिन्, ‘‘यस घटनाको पूरा ‘इपिसोड’ तिमीलाई थाहा छ?’’ उनले सोधिन्।
‘‘मलाई त समाचारमा जति आयो त्यतिमात्र थाहा छ। के तिमीलाई त्यो भन्दा बढी थाहा छ?’’ मैले सोधे।
‘‘छ मलाई त्यसको पूरा ‘इपिसोड’ थाहा छ।’’ उनको जवाफ सुनेर म थप कुरा सुन्न उत्सुक भए।
‘‘हो, अब तिमी ‘कुल’ हुन्छौं मचाहिँ ‘एक्स्साइटेड’ हुन्छु बुझ्यौ? यही कुरा बताउन मैले तिमीलाई यहाँ डाकेकी हूँ। यो गोप्य कुरा हो। तिमीले गोपनीयता भङ्ग गर्दैनौ भन्ने कुरा मलाई पूरा विश्वास छ। त्यसैले यस घटनाका वाहिर नआएका केही तथ्यहरू म तिमीलाई बताउँछु, हुन्छ?’’ उनको प्रश्नको प्रत्युत्तरमा मैले हुन्छ भनेर टाउको मात्र हल्लाए।
उनले बताउन थाली, ‘‘हिजो साँझ, ८ बजे तीन जना केटाहरूले उनलाई अपहरण गरेर पर्खाल बार बन्देज केही नभएको एउटा बन्द कारखानाको गोदाममा लगे। ती तीनैजना काठमाण्डौंका नामी ‘गे’हरू थिए। तिमीलाई थाहा छ ‘गे’ भनेका केटा भएर पनि केटाहरूसँग नै यौनसम्बन्ध राख्ने मान्छेहरू हुन्। त्यो गुण्डाको हात खुट्टा बाँधेर र मुखमा पट्टी लगाएर तीनीहरूले पालैपालो वलत्कार गरे। त्यो गुण्डाको वलत्कारमा परेर घरबाट निकालिए पछि बाँच्नका लागि ‘बेश्या’ अर्थात यौनकर्मी बन्न बाध्य भएकी दुईजना महिलाहरूले पनि तिनलाई पालैपालो बलत्कार गरिन्। उनीहरू सबैले ‘मास्क’ लगाएका थिए। त्यतिभएपछि त्यो गुण्डा अर्ध चेत अवस्था पुग्यो। त्यसपछि उनीहरू बाटो लागे। होसमा आएपछि कारखानाका पालेहरूले थाहा पाएर अस्पताल पु-याए। यी सबैको घटनाक्रमहरूको ‘लाइभ रेकर्ड’ मसँग छ। उक्त ‘रेकर्ड’ उक्त तीन जना ‘गे’ र दुई जना यौनकर्मी महिलाहरूले पालैपालो खिचेका हुन्। तिमीले भने जस्तै मेरो ‘थेसिस’ त अब पक्का तयार हुने भो नै। अहिले म त्यो गुण्डाले पत्रकारहरूलाई के के भन्दा रहेछन् भनेर पर्खिरहेकी छु। अस्पतालबाट ‘डिस्चार्ज’ भएपछि म अन्तरवार्ता लिन जान्छु। त्यसले मलाई सही-सही कुरा बताउनेछ भन्ने विश्वास गरेकी छु। नबताएमा उक्त ‘रेकर्ड’ देखाएर ‘बार्गेनिङ्ग’ गर्नेछु । त्यसपछि त साँचो कुरा नबताइ सुख त्यसले! हो म उनको नाम र ठेगाना नक्कली राख्छु र वास्तविकता अरू कसैलाई पनि बताउदिन। यो काममा मलाई तिम्ले सघाउनु पर्छ है।’’ सरलाले सबै कुरा बताइन्।
‘‘तिम्ले यी सब कुरा कसरी थाहा पायौ?’’ मैले लामो सास तान्दै सोधे।
‘‘त्यही तीन जना ‘गे’ र दुई जना यौनकर्मी महिलाहरूले बताएका नि। ती ‘गे’हरू कामुक पुरूषको खोजिमा रहेछन् र यौनकर्मी महिलाहरू बदला लिने दाउमा रहेछन् धेरै पहिलेदेखि। त्यो गुण्डालाई कसरी बलत्कार गर्ने भन्ने ‘आइडिया’ चाहिँ ती यौनकर्मी महिलाहरूको हो। मेरै टोलकी एउटी यौनकर्मी महिला जो त्यही गुण्डाबाट बलत्कृत भएपछि यौनकर्मी बन्न बाध्य भएकि थिइन, बाट मैले यो कुरा थाहा पाएँ। मैले यस मौकालाई अलिकति सदुपयोग गरेँ।’’ उनले बताइन।
‘‘के त्यसो भए घटनाको मूल ‘डिजाइन’कर्ता नै तिमी हौ त?’’ मैले सोधे।
‘‘चाहना, सक्रियता र जिम्मेवारी उनीहरूको, ‘प्लानिङ्ग’ र ‘लाइभ रेकर्ड’को ‘आइडिया चैं मेरो। दर्जनौ दिदी बहिनीलाई बलत्कार गरेर जीवन वर्वाद गर्नेलाई बलत्कारको पीडा कस्तो हुन्छ भनेर चखाउनु पनि प-यो नि! यति काम त अपराध वा पाप हुन्न होला नि!’’ उनले सगर्व भनिन्।
‘‘यो त टोक्ने कुकुरको खुट्टा टोके जस्तो भएन र?’’ मैले प्रतिप्रश्न गरेँ।
‘‘तिम्रो कुरा त साधु सन्तको जस्तो पो भयो, आम मान्छेको जस्तो भएन। जो माथि अन्याय भए ती कुनै साधु सन्त थिएनन् केवल आम मान्छे थिए भन्ने कुरा विर्सनु भएन नि।’’ उनले सफाई दिइन्।
‘‘सरला तिमी जे भन, त्यो गुण्डासँग वदला लिने तरिकाचाहिँ ठीक भएन बुझ्यौ?’’ मैले प्रतिवाद गरेँ।
‘‘अरूण तिमी पनि जे भन, कानुन र समाजले तह लगाउन नसकेको त्यो बलत्कारीलाई तह लगाउने तरिका यही हो। उसले जसरी निर्दोष महिलाहरूलाई जुन ठाउँमा जसरी बलत्कार गरेको थियो ठीक त्यही ठाउँमा त्यसरी नै ऊ हिजो बलत्कृत भएको छ। यो त उसले खनेको खाल्डोमा आफै परेको मात्र हो अरू केही होइन।’’ सरलाले मेरो कुराको प्रतिवाद गरिन। मैले उनलाई जति-जति सम्झाउन खोजेँ उनी त उति-उति कडा रूपले पेश हुन थाली। उनको र मेरो कुरा मिलेन। नेताहरूको जस्तै हाम्रो वार्तालाप पनि बिनानिश्कर्ष टुङ्गियो। नजीकैको मीठाई पसलमा तातो-तातो जेरी र हलुवा-स्वारी खाएर हामी आ-आफ्नो घरतिर लाग्यौं।
सरलासँग छुट्टिएपछि मेरो दिमागमा नानाथरी विचारहरू खेल्न थाले। हाम्रो समाज सम्बेदनहीन भैसकेछ। यो कुरा ‘जनयुद्ध’, अपहरण, हत्या, हिंसा र हिन्दी चलचित्रको देन हो जस्तो लाग्छ मलाई। मनोविज्ञानको एउटा विद्यार्थीको हैसियतले यति कुराचाहिँ म विश्वासकासाथ भन्न सक्छु। सधै सरल देखिने सरलाको मनोविज्ञान पनि यति जटिल र घातक होला भनेर मैले चिताएकै थिइन। उनी केही समयदेखि मसँग खुलेर कुरा गर्छिन्। कारण एउटै छ, सरलासँग अर्को महिना मेरो विवाह हुँदैछ।
(स्रोत : “लालीगुराँस” बिद्युतीय साहित्यिक पत्रिका – अङ्क ४, अप्रिल २०१०)