टक्क रोकिए हुन्थ्यो
यो सिरसिर बहिरहेको पवन ।
यो निष्ठूरी समय
र यो मेरो मन् ।।
तिमी नजिकै छौ
र पनि कति टाढा छौ ।
खोजिरहन्छ मन् हरपल हरपल
तिम्रै निकटताको मिठो एहसास ।।
बगिरहेको यो कञ्चन पानी जस्तै
बहिरहेको यो निर्मल हावा जस्तै
हलुका पारेर आफूलाई
रित्तो रित्तो हुन मन् छ
रित्ताएर आफूलाई यतैकतै तिमीभित्रै
पूनः भरिन मन लागेको छ ।।
तिम्रो यति प्रिय सानिध्यतामा पनि
किन मन भागिरहन्छ आफै संग
तिमीबाट टाढा भागेर पनि
फेरी किन खोजिरहन्छ तिम्रै सामिप्य ?
जवाफ खोज्दा खोज्दा आजित छु ।
निष्ठूरी मलाई माफ गर
के तिमी संग यसको जवाफ छ ?
(स्रोत : रचनाकारको ब्लगबाट सभार)