~प्रकाश पौडेल ‘माइला’~
आँत सुकेको बर्षौं बित्यो खाना लिएर आउनु
लालाबाला काप्न थाले नाना लिएर आउनु ।
दिन दिनै आँधि चल्छ हुरीको के कुरा गर्नु
तारा मण्डल घर ओत्ने छाना लिएर आउनु ।
पर्देशीको बेदनामा छट्पटिने मुटु माझ
पिडाको दाग पखाल्नलाई गाना लिएर आउनु ।
बाटो हेरि कौसी कुर्नु बिकल्पको पाटो छैन
बिरहका चिठी लेख्न पाना लिएर आउनु ।
बाहन पाक्ने अँगेनोमा आगो बल्न छोडी सक्यो
मुरी पाथी कुरै छोडौ माना लिएर आउनु ।